आगामी वर्षको बजेट : १८ खर्ब ६० अर्ब

1.3K

आगामी वर्षको बजेट : १८ खर्ब ६० अर्ब

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले १८ खर्ब ६० अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेको छ । मंगलबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गर्नुभएको हो ।
सरकारले आगामी आर्थिक वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ । चालु आर्थिक वर्ष सात प्रतिशतको वृद्धिदर प्रक्षेपण गरिएकोमा केन्द्रीय तथ्यांक कार्यालयको पछिल्लो संशोधित प्रक्षेपणको आधारमा ३.८७ प्रतिशतले वृद्धि हुने जनाएको छ । पछिल्लो पाँच वर्षयता नेपालको सरदर औसत आर्थिक वृद्धि २.९६ प्रतिशत छ । लामो समय यस्तो औसत आर्थिक वृद्धिदर चार प्रतिशत हाराहारी रहँदै आएको छ । त्यस्तै सरकारले ५.५ प्रतिशतमा मूल्य वृद्धि सीमित पार्ने घोषणा गरेको छ ।
सामाजिक सरक्षाका भत्ता कार्यक्रमलाई केन्द्रित गरेर एक खर्ब १६ अर्बको बजेट विनियोजन गरिएको छ । सामाजिक सुरक्षा कार्यक्रमलाई व्यवस्थित गरी लक्षित वर्गमा केन्द्रित गरिने भने पनि बजेटमा कुनै कार्यक्रम ल्याइएको छैन । अहिले वृद्ध भत्ताको रूपमा ६८ वर्ष नाघेका नागरिकलाई मासिक चार हजार रूपैयाँ भत्ता उपलब्ध गराइँदै आएको छ । त्यस्तै कर्णाली र दलित परिवारका हकमा ६० वर्षमाथिका नागरिकलाई यस्तो भत्ता दिइएको छ । अरु सबै किसिमका सामाजिक सुरक्षा भत्तासहित आगामी वर्ष एक खर्ब १६ अर्ब रूपैयाँ खर्च हुने अनुमान छ ।
सरकारले आलु, प्याज, स्याउ लगायतका तरकारी एवं फलफूलमा लागेको अभिवृद्धि कर खारेज गरेको छ । यसबाट स्वदेशी उत्पादनमा टेवा पुग्ने सरकारको विश्वास छ । मूल्य अभिवृद्धि कर छुट दिएका वस्तु र सेवाको सूची घटाउँदै स्वच्छ कर प्रणाली विकास गरिने समेत सरकारले बजेटमार्फत् बताएको छ ।
यो वर्ष पनि धूम्रपान तथा मद्यपानमा कर बढाएको छ । जसअन्तर्गत मदिरा, बियर, सूर्ति र चुरोटमा अन्तःशुल्क बढाइएको छ । बियरमा हाल एक लिटर बराबर २३५ रूपैयाँ अन्तःशुल्क लाग्दै आएकोमा २४० रूपैयाँ पु¥याइएको छ। बियर बाहेकको मदिरा (अल्कोहल) मा हाल ४४४ रूपैयाँ अन्तःशुल्क लागेकोमा ४६० रूपैयाँ पु¥याइएको छ। यस्तै चुरोटको अन्तःशुल्क ४ प्रतिशत बढाइएको छ ।
सरकारले औषधि प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन खुला गर्ने भएको छ । यसका लागि आवश्यक कानुन निर्माण गर्ने पनि सरकारले बताएको छ । गाँजाको व्यावसायिक उत्पादनका लागि कानुन निर्माण गर्ने उल्लेख गरिएको छ ।
साना किसानको बाली तथा पशुपंक्षी बीमाका लागि सरकारले प्रिमियम रकममा अनुदान प्रदान गर्न एक अर्ब ६५ करोड रूपैयाँ बजेट छुट्ट्याएको छ । केही वर्षदेखि सञ्चालनमा रहेको कृषि बीमा कार्यक्रम अन्तर्गत सरकारले दुई अर्ब ५० करोड रूपैयाँ भुक्तानी दिन सकेको छैन । कृषि बीमामा सरकारले प्रमियिम रकमका ७० प्रतिशतसम्म अनुदान दिँदै आएको छ । गाई र भैंसीको नस्ल सुधारका लागि ३८ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ । त्यस्तै प्रदेश स्थानीय तह र निजी क्षेत्र समेतको सहकार्यमा सबै प्रदेशमा गाई र भैंसी पालन स्रोत केन्द्र स्थापना गरिनेछ ।
निजगढदेखि ढल्केबरसम्मको पूर्वपश्चिम राजमार्ग आसपासको क्षेत्रलाई नेपाली गलैंचा करिडोरको रूपमा विकास गरिने भएको छ । सार्वजनिक निकायले नेपालमा बनेको गलैंचा खरिद गर्नुपर्ने व्यवस्था पनि बजेटमा गरिएको छ । त्यस्तै प्रदेश तथा स्थानीय तहको समन्वयमा सल्यान, रूकुमको शारदा नदी आसपासको क्षेत्रलाई कृषि करिडोरका रूपमा विकास गरिनेछ ।
सरकारले नेपाली सेनाको बंकरदेखि ब्यारेकसम्म कार्यक्रमलाई साढे एक अर्ब बजेट विनियोजन गरेको छ । नेपाली सेनालाई प्रविधियुक्त, दक्ष एवं व्यावसायिक बनाइने बताइएको छ । राष्ट्रिय सेवा दल तालिमलाई स्थानीयस्तरसम्म विस्तार गरिने छ । रक्षा मन्त्रालयका लागि ५९ अर्ब ८७ करोड रूपैयाँ विनियोजन गरिएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा ऊर्जा क्षेत्र विकासका लागि ५० अर्ब ७४ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । आगामी वर्ष सुख्खायामको मागलाई पूर्ति गर्न १२ सय मेगावाट क्षमताको बुढीगण्डकी, ६ सय ७० मेगावाट क्षमताको दूधकोशी र चार सय १७ मेगावाट क्षमताको नलसिङ्गाड लगायत जलाशययुक्त जलविद्युत आयोजना निर्माण सुरू गर्ने भएको छ । दुई सय ८० मेगावाट क्षमताको नौमुरे बहु–उद्देश्यीय जलविद्युत आयोजनाको निर्माण कार्य सुरू गरिनेछ । वैदेशिक रोजगारीमा गएका व्यक्तिको लगानीमा ७७.५ मेगावाटको घुन्सा र ७०.३ मेगावाटको सिम्बुवा जलविद्युत आयोजना निर्माण कार्य अगाडि बढाइने व्यवस्था बजेटमा छ ।
जनताको जलविद्युत कार्यक्रमअन्तर्गत एक हजार ६३ मेगावाटको माथिल्लो अरूण, एक सय ६ मेगावाटको जगदुल्ला, एक सय मेगावाटको तामाकोशी पाँचौं, ४२ मेगावाटको मोदी ‘ए’ र दुई सय १० मेगावाटको चैनपुर–सेती जलविद्युत आयोजनाको निर्माण सुरू गरिनेछ । सुनकोशी तेस्रो जलविद्युत आयोजनाको विस्तृत अध्ययन गरी निर्माण प्रक्रिया अगाडि बढाइने छ । १० हजार ८ सय मेगावाटको कर्णाली–चिसापानी जलविद्युत आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइनको कार्य पनि सुरू गरिने उल्लेख गरिएको छ ।
सरकारले सुरूङमार्ग, इन्टरसेक्सन र फ्लाइओभर निर्माणका लागि पाँच अर्ब ६३ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षमा सिस्नेखोला नागढुंगा सुरूङ निर्माण सकेर यातायात सञ्चालन गरिने बताइएको छ । सिद्धबाबाको मुख्य सुरूङ पनि निर्माण सकिने बताइएको छ । ग्वार्को चोकमा फ्लाइओभर निर्माण कार्य सम्पन्न गरी यातायात सञ्चालन गरिनेछ । कोटेश्वर इन्टरसेक्सन निर्माण कार्य सुरू गरिनेछ ।
सरकारले आगामी आर्थिक वर्षमा १५० वटा पुल निर्माण गर्ने भएको छ । राष्ट्रिय राजमार्ग तथा रणनीतिक सडक अन्तर्गत १५० वटा पुल निर्माण गरिने बताइएको हो । नारायणी तथा तिनाउ नदीमा सिग्नेचर पुल निर्माणको काम पनि अगाडि बढाइनेछ । यसका लागि दुई अर्ब ४६ करोड रूपैयाँ विनियोजन गरिएको छ ।
सरकारले निश्चित रकमभन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य रूपमा सेयर जारी गर्न लगाउने भएको छ । सरकारले एक दशक अघिदेखि नै यस्तो व्यवस्था गर्ने बताउँदै आएको भए पनि यसमा हालसम्म कुनै काम अगाडि बढेको छैन । नेप्से र सिडिएस एन्ड क्लियरिङको संरचनागत सुधार गरिने, वस्तु बजार सञ्चालनको व्यवस्था गरिने अर्थमन्त्री पुनले बताउनु भयो । नेपाल राष्ट्र बैंक ऐन र विदेशी विनिमय नियमित गर्ने ऐन संशोधन गर्ने भएको छ ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारीमा बनाउने घोषणा गरिएको छ । आगामी आर्थिक वर्षभित्र लगानीको ढाँचा र पूर्व तयारी कार्य सम्पन्न गर्ने उद्देश्य राखिएको छ । त्यस्तै मे २९ लाई सगरमाथा अन्तर्राष्ट्रिय विशेष दिवसको रूपमा मनाइने भएको छ ।
मध्यपहाडी पुष्पलाल लोकमार्गका लागि तीन अर्ब ६८ करोड रूपैयाँ बजेट छुट्ट्याएको छ । आगामी वर्ष यो खण्डअन्तर्गत निर्माणाधीन कटुन्जे आरूघाट खण्डसमेत गरी ७५ किलोमिटर कालोपत्रे गरिनेछ । नौ सय मेगावाट विद्युत थप गर्ने भएको छ । राष्ट्रिय प्रणालीको विद्युत क्षमता चार हजार पाँच सय मेगावाट पु¥याइने छ । प्रतिव्यक्ति विद्युत खपत चार सय ५० युनिट पु¥याइने छ । आगामी आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत निर्यात गर्ने पनि सरकारको योजना छ ।
विद्युत प्रसारण लाइन निर्माण र वितरण कार्यमा निजी क्षेत्र समेत सहभागी हुने गरी कानुनी प्रबन्ध गरिने छ । त्यस्तै जलाशययुक्त जलविद्युत आयोजनामा बाँध र विद्युत गृह छुट्टाछुट्टै प्रवद्र्धकबाट निर्माण गर्ने गरी निजी क्षेत्रलाई लगानी गर्न आकर्षित गरिने छ ।
काठमाडौं तराई मधेस द्रुत मार्गका लागि २२ अर्ब ५४ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ । यो सडक आयोजना अन्तर्गत निर्माणाधीन सुरूङमार्ग आगामी आर्थिक वर्षमा सकिने बताइएको छ । यो आयोजनामा ५७ पुल निर्माणलाई तीव्रता दिइने छ । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल र कमला–कञ्चनपुर खण्ड चार लेनमा विस्तार गर्ने काम आगामी आर्थिक वर्षमा सकिने अर्थमन्त्री पुनले जानकारी गराउनु भयो । कमला–ढल्केबर, पथलैया–नारायणघाट, बुटवल–गोरूसिंगे र भालुवाङ–लमही सडक खण्ड स्तरोन्नती सुरू गरिनेछ ।
मूलपानी क्रिकेट रंगशाला र विरानटगरको गिरिजाप्रसाद कोइराला रंगशालालाई सरकारले राष्ट्रिय गौरवका आयोजनाका रूपमा अगाडि बढाईएको छ । हाल २१ वटा आयोजना राष्ट्रिय गौरवका आयोजनाका रूपमा रहेका छन् । सातवटै प्रदेशमा कम्तीमा एक हजार युवालाई सीपमूलक तालिम प्रदान गर्न ४३ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ । प्रशिक्षार्थीलाई आवासीय सुविधा सहितको रोजगारमूलक व्यावसायिक सीप प्रदान गर्न तालिम प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको बनाईने र वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पनि सीपयुक्त बनाएर पठाईने अर्थमन्त्री पुनले बताउनु भयो । वैदेशिक रोजगारीमा जानुपूर्व दिइने अभिमुखीकरण तालिमलाई निःशुल्क बनाईएको छ । आगामी आर्थिक वर्ष थप तीन वटा गन्तव्य मुलुकसँग श्रम सम्झौता गरिने अर्थमन्त्री पुनले बताउनु भयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आगामी आर्थिक वर्षमा करिब दुई लाख युवालाई न्यूनतम १०० दिनको रोजगारी दिइनेछ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत युवाहरूलाई सार्वजनिक मर्मत सम्भारका कार्यक्रममा सहभागी गराउन आगामी आर्थिक वर्षका लागि ६ अर्ब बजेट विनियोजन गरिएको छ ।
रोजगार बैंकको स्थापना गरी रोजगार सम्बन्धी सूचना संकलन गर्ने योजना पनि सरकारले अघि सारेको छ । श्रमिक सम्बन्धी गुनासो र देखिएका समस्या समाधानका लागि श्रमाधान कार्यक्रम सञ्चालन गरिनेछ । सात प्रदेशका एक–एक स्थानीय तहमा एकीकृत भान्साको अवधारणा अनुरूप ‘मेगा किचन’ स्थापना गरिनेछ । कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु र डोल्पा लगायत जिल्लामा दिँइदै आएको दिवा खाजाका लागि बजेट वृद्धि गरिएको छ । आगामी वर्ष प्रारम्भिक बाल शिक्षादेखि कक्षा पाँच सम्मको दिवा खाजाका लागि आठ अर्ब ३९ करोड विनियोजन गरिएको छ । कक्षा एकदेखि पाँच सम्मको दिवा खाजामा स्थानीय उत्पादन प्रयोग गर्नुपर्नेछ ।
कफी, चिया, अलैंची र हिमालयन वाटरको ब्रान्डिङ गरिने छ । स्वदेशी श्रम र कच्चा पदार्थ प्रयोग गरी कम तौल र उच्च मूल्य भएका वस्तु उत्पादन गरी निर्यात गरिने भएको छ । पहिलो चरणमा कफी, चिया, अलैंची र हिमालयन वाटर ब्रान्डिङ गरिने मन्त्री पुनले बताउनु भयो । नेपाल व्यापार एकीकरण रणनीतिले पहिचान गरेका र हाल उच्च परिमाणमा निर्यात भइरहेका गलैंचा, कार्पेट, धागो लगायतका वस्तुको निर्यात अभिवृद्धि गरिनेछ ।
नेपाललाई पर्यटकीय विवाह गन्तव्य बनाइने छ । नेपालमा वैवाहिक समारोह आयोजनाका लागि आउने पर्यटकलाई सांस्कृतिक र पर्यटकीय गन्तव्यलाई विवाह गन्तव्यको रूपमा घोषणा गरिने छ । जनकपुरलाई वेडिङ हब र लुम्बिनीलाई बर्थिङ हब बनाउने सरकारको तयारी छ ।
त्यस्तै पुराना ट्रेकिङ रूटको मर्मतसम्भार गर्ने र सम्भावित जोखिम क्षेत्रमा पर्यटकीय उद्धार केन्द्र स्थापना गरिने छ । यस्ता पर्यटन पूर्वाधारको लागि पाँच अर्ब ४६ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ ।