रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सूचना प्रविधि तथा राष्ट्रिय झण्डा उद्यानको उद्घाटन गरिएको छ । तिलोत्तमा नगरपालिका वडा नं. ६ स्थित नगरपालिकाको कार्यालय परिषरमा निर्माण गरिएको उक्त उद्यानको मंगलबार प्रतिनीधि सभा सदस्य तथा पूर्वमन्त्री विष्णुप्रसाद पौडेल, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईँ, सिद्धार्थनगरनगरपालिकाका नगरप्रमुख ईतियाक अमहद खाँन, तिलोत्तमाकी उपप्रमुख जागेश्वरीदेवी चौधरीले संयक्त रुपमा उक्त उद्यानको उद्घाटन गर्नुभएको हो ।
त्यस अवसरमा बोल्दै उहाँले राष्ट्रियताको जगेर्नासंगै नागरिकको सूचना पाउने अधिकारलाई सुनिश्चित गर्न उद्यान महत्वपूर्ण हुने भनाई राख्नुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालका अनुसार उक्त उद्यानमा मुख्यतया तीन वटा क्षेत्रलाई समावेश गरिएको छ । उद्यान भित्र राष्ट्रिय झण्डा, सूचना प्रविधि उद्यान र त्यसको वालमा नगरपालिका भित्रका सम्पदानलाई चित्रमा उतारिएको उहाँले जानकारी गराउनु भयो ।

