प्रतिनीधि सभा सदस्य समेत रहनु भएको नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र ऋण तिर्नको लागि ऋण लिनुपर्ने स्थितीमा रहेको बताउनु भएको छ । उहाँले राजश्वले साधारण खर्च समेत धान्न सक्ने स्थितीमा नहुदा मुलुकको विकास निर्माणको काम समेत प्रभावित हुन सक्ने बताउनु भयो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले निर्माण गरेको सूचना प्रविधि तथा राष्ट्रिय झण्डा उद्यानको उद्घाटन गर्दै पूर्व उपप्रधान तथा पूर्व अर्थमन्त्री समेत रहनु भएको नेता पौडेलले अर्थतन्त्रका कारण मुलुक विषम परिस्थितीबाट गुज्रिनुपरेकाले पालिकाहरुलाई पनि त्यसतर्फ गम्भिर हुन आग्रह गर्नुभयो ।
उहाँले मुलुकलाई आर्थिक तथा सामाजिक रुपमा सम्पन्न बनाउनको लागि सबै मिलेर काम गर्नुपर्ने बताउँदै त्यसको उदाहरण तिलोत्तमा नगरपालिकाले प्रस्तुत गरेको उल्लेख गर्नुभयो । चुनावका बेला जो जहाबाट निर्वाचित भएपनि निर्वाचन जितिसकेपछि सबैको साझा बन्नको लागि उहाँले जनप्रतिनिधीहरुलाई आग्रह गर्नुभयो । संविधानमा लेखिएका नागरिकका अधिकार निर्वाध रुपमा उपयोग गर्ने वातावरण निर्माण गर्नको लागि पनि सबै मिल्नुपर्ने बताउँदै निर्माण भएको सूचना प्रविधि तथा राष्ट्रिय झण्डा उद्यानले राष्ट्रियताको जगेर्नासंगै नागरिकको सूचना पाउने अधिकारलाई सुनिश्चित गरेको भनाई राख्नुभयो ।
त्यस अवसरमा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले नगरपालिकाले नगरवासीका लागि भौतिक पूर्वाधार विकास र मानवीय संगसंगै अगाडि बढाईएको जानकारी गराउनु भयो । मानवीय विकास र भौतिक पूर्वाधार विकास एक सिक्काको दुई पाटा रहेको बताउँदै उहाँले त्यसमा आफूहरु प्रतिवद्ध रहेको भनाई राख्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चापागाईँ, सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख ईस्तियाक अहमद खाँनले शुभकामना व्यक्त गर्नुभएको थियो ।