नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेले नेतृत्व गर्न पाए मुलुक दशकमै कायापलट हुने बताउनु भएको छ । एमाले रुपन्देहीको दशैं जिल्ला अधिवेशनको बुधबार भैरहवामा उद्घाटन गर्दै पार्टी उपाध्यक्ष पौडेलले मुलुकको विद्यमान संकट समाधान र जनआकांक्षा सम्बोधनका लागि एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न जरुरी रहेको बताउनु भयो ।
संविधानले प्रदान गरेको अधिकार नागरिकले उपभोग गर्न पाउँछन् भन्ने आजको मुख्य प्रश्न रहेको बताउँदै उहाँले एमालेले नेतृत्व गर्न नपाएका कारण मुलुक पछि परेको र नागरिकमा तमाम समस्या उत्पन्न भएको बताउनु भयो ।
अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएपनि कार्यव्यस्तता देखाएर नआएपछि उपाध्यक्ष पौडेलले अधिवेशनको उद्घाटन गर्नुभएको हो ।
अधिवेशन उदघाटन कार्यक्रममा केन्द्रीय सचिव छविलाल विश्वकर्माले कार्यकर्ताले एमालेको जिल्ला अधिवेशनलाई उत्सवको रुपमा लिनुपर्ने भन्दै नेतृत्व चयनमा खिचातानी नगर्न आग्रह गर्नुभयो । त्यस्तै केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्यमा अर्यालले एमाले नै देशको भरपर्दो पार्टी रहेको बताउनु भयो ।
कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य लिला गिरी, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेललगायतले पार्टी संगठनलाई बलियो बनाएर मात्र देश निर्माणमा जुट्न सकिने बताउनु भएको थियो ।
अधिवेशन उदघाटन सत्रमा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ गैरेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । जिल्लाको १६ पालिकाका १५५ वडा, २३ जनसंगठनबाट र आयोजक कमिटीबाट ८५३ जना प्रतिनिधि चयन गरिएको छ । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित १४१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ । बन्दसत्रमा राजनैतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश गरिएको छ ।