बुटवलको रोजगार मेलामा ३५ जनालाई रोजगारी : १५० जना दोसो चरणका लागि छनौट

1.3K

बुटवलको रोजगार मेलामा ३५ जनालाई रोजगारी : १५० जना दोसो चरणका लागि छनौट

बुटवलमा आयोजित श्रमाधान रोजगार मेलाबाट ३५ जनाले रोजगारी पाएका छन् । बुधबार र बिहिबार दुई दिन बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा चलेको मेलाको ६ हजार जना भन्दा बढीले अवलोकन गरेको आयोजक बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनु भयो ।
उहाँका अनुसार ४१ वटा स्टलबाट ७ सय ३१ जनाका लागि आवेदन आह्वान भएकोमा रोजगारीका लागि १ हजार २ सय २८ जनाले आवेदन दिएका छन् । मेलामा ५ सय जनाले वैदेशिक रोजगार, मनोसामाजिक परामर्श, वित्तिय साक्षरतासम्बन्धी परामर्श सेवा प्राप्त गरेको उहाँले बताउनु भयो ।
उहाँका अनुसार मेलाबाट ३५ जनाले रोजगारी प्राप्त गरेका छन् भने १ सय ५० जना दोश्रो चरणका लागि छनोट भएका छन् । पाण्डेयले रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाताको लागि कार्यक्रम सहायक सिद्ध भएको बताउनु भयो ।
श्रम कार्यालय बुटवलका प्रमुख कृष्णप्रसाद खनालले मेलाबाट आन्तरिक र बाह्य रोजगारीको लागि सहजीकरण गरिएको बताउनु भयो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाले संयुक्त रुपमा लुम्बिनी प्रदेशस्तरीय रोजगार मेलामा ४१ वटा औद्योगिक प्रतिष्ठानहरूका स्टल रहेका थिए ।