रोटरी तिलोत्तमा रुपन्देही भाईब्रेन्ट क्लवको रुपमा स्थापित

1.3K

रोटरी तिलोत्तमा रुपन्देही भाईब्रेन्ट क्लवको रुपमा स्थापित

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीको छैठौं क्लव एसेम्ब्ली सकिएको छ । क्लवको शनिबार बुटवलमा संयुक्त बैठक तथा यो वर्षको अन्तिम क्लव एसेम्ब्ली गरिएको हो ।
कार्यक्रममा क्लवका अध्यक्ष निरज श्रेष्ठले यो वर्षमा भएगरेका कार्यप्रगति सहित सम्पन्न हुन बाँकी रहेका कार्यक्रमहरुको बारेमा जानकारी गराउँदै बाँकी काम आगामी वर्ष पुरा हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार क्लवले यो वर्ष क्लवका नियमित कार्यक्रम सहित सिग्नेचर प्रोजेक्ट जाजरकोटको ग्रामिण क्षेत्रमा रहेको भूकम्प प्रभावित एक विद्यालयमा रंगरोगन तथा विद्यालयलाई फर्निचर प्रदान गरेको थियो । त्यस बाहेक रक्तदान, स्वास्थ्य शिबिर, बृक्षरोपण लगायतका कार्यक्रम गरिएको पनि उहाँले बताउनु भयो ।
कार्यक्रममा क्लवका एसाईन एजी कृष्ण रावल र आगामी वर्षका एसाईन एजी सुमन गोपाल आचार्य पनि सहभागि हुनु भएको थियो । कार्यक्रममा क्लवले बनाएको प्लान अफ एक्सन र वर्षभरी गरेका कामको समिक्षा गर्दै एसाईन एजी रावलले क्लवले गरेको काम र क्लवका सदस्यहरुको क्रियाशिलताले रोटरी क्लव अफ तिलोत्तमा रुपन्देही डिष्ट्रिकमा भाईब्रेन्ट क्लवको रुपमा स्थापित भएको बताउनु भयो ।
उहाँले क्लवमा सदस्य संख्या, आरआईएफ कन्ट्रिव्यूसन र प्लान अफ एक्सन अनुसारका गतिबिधिलाई मुल्यांकन गरिने बताउँदै यी सबैकुरामा डिष्ट्रिकको गोललाई समेत एचिभ गर्नेगरी काम गरेको भन्दै प्रशंसा गर्नुभयो । गरिव र विपन्नको सेवा तथा समुदायमा सामाजिक सेवाको लागि आगामी वर्ष भएपनि क्लवले ग्लोवल ग्राण्ड गरेको हेर्ने चाहना रहेको उल्लेख गर्नुभयो ।
त्यस्तै इनकमिङ एसाईन एजी सुमन गोपाल आचार्यले आफू क्लवलाई सिकाउन भन्दा पनि क्लवबाट केही कुरा सिक्न आएको बताउँदै सबैको सहकार्यले राम्रा काम गर्न सकिने बताउनु भयो । उहाँले आफू क्लव स्थापना भएको छोटो समयमै एजी भएको स्मरण गर्दै लामो अनुभव हासिल गरेको क्लवका पूर्व एसाईन एजी, पूर्वअध्यक्षहरु र पदाधिकारीहरुको पूर्ण समन्वयले धेरै कुरा सिक्न पाउने आशा व्यक्त गर्नुभयो ।
त्यस अवसरमा क्लवका आगामी वर्षका अध्यक्ष देवीराम पाण्डेले आफ्नो कार्यकालको लागि तयार गरेको कार्ययोजना प्रस्तुत गर्दै क्लवमा टिमवर्कमा काम गर्ने भएकाले सबैको सहयोग तथा सहकार्यमा जोड दिनुभयो ।