संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस र दोस्रो ठूलो दल नेकपा एमाले सत्ता समिकरणको कसरतमा जुटेका छन् । दुबै दलको दोस्रो तहका नेताहरुको धेरै चरणको छलफल पछि काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली विच लामो छलफल भएको हो ।
काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली विचको छलफल पछि मुलुकको सत्ता राजनीति नयाँ अध्यायमा प्रवेश गर्न लागेको दुबै दलका नेताहरुले बताएका छन् । संसदको बाँकी कार्यकालमा दीर्घकालीन महत्वका निर्णय लिन बलियो सरकार आवश्यक भएकाले नेतृत्वमा बाँकी समयको आधा–आधा कार्यकाल गर्न दुवै दल सकारात्मक रहेको बुझिएको छ ।
काँग्रेस र एमाले विचमा २०७२ सालमा संविधान सभाबाट जारी संविधान कार्यान्वयनका क्रममा देखिएका जटिलता, कमीकमजोरीहरू पहिल्याउँदै तिनको सम्बोधन गर्न उच्चस्तरीय संविधान सुझाव आयोग बनाउने विषयमा पनि छलफल भएको छ ।
पछिल्लो समय काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली विच भएको भेटवार्ताले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भने झस्काएको छ । शनिबार भएको देउवा–ओली संवादपछि प्रचण्ड र ओलीका बीचमा दुईपटक भेटवार्ता भईसकेको छ भने आजै प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनको बैठक बोलाउनु भएको छ । त्यस्तै आजै नेपाली काँग्रेसको पनि पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बोलाईएको छ ।