लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिटेन्डेन्ट पदमा डा. ईन्द्र ढकाललाई गरेको नियुक्तिको निर्णय कार्यान्वयन नगर्न सर्बोच्च अदालतले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई आदेश दिएको छ ।
मिति २०८१।२।१८ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषदको बैठकले लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेण्टमा डा. ईन्द्र ढकाललाई नियुक्त गरेको थियो । ढकालको नियुक्तीसंगै ११ औं तहका स्थायी मेडिकल सुपरिटेन्डेण्ट डा. विष्णु गौतमले सर्बोच्चमा दिएको निवेदन उपर न्यायधिश विनोद शर्माको गत शुक्रबार बसेको एकल इजलासले लुम्बिनी प्रादेशिक अस्पतालको आर्थिक र प्रशासनिक जिम्मेवारी सहित निमित्त मेडिकल सुपरीटेण्डेण्टको जिम्मेवारी तोकिएको निर्णय÷काम कारबाही÷पत्राचार कार्यान्वयन नगर्नु, यथास्थितिमा राख्नु भनी प्रत्यार्थीहरुका नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
नेपाल सरकारको मिति २०७८।९।१ को निर्णय अनुसार नेपाल स्वास्थ्य सेवा, जनरल हेल्थ समूह प्रमुख मेडीकल सुपरिटेण्डेट एघारौं तहमा स्थायी नियुक्ती भएका निवेदक डा. विष्णु गौतम कार्यरत रहँदा रहँदै निज भन्दा कनिष्ठ एवम् मेडिकल सुपरिटेण्डेण्टको लागि आवश्यक शैक्षिक योग्यता समेत नरहेका दशैं तहका डा. ईन्द्र ढकाललाई लुम्विनी प्रादेशिक अस्पताल बुटवलको आर्थिक र प्रशासनिक जिम्मेवारी सहित निमित्त मेडिकल सुपरीटेण्डेण्टको जिम्मेवारी तोकिएको भन्ने देखिएकोले टुंगो नलाग्दा सम्म यथास्थितीमा राख्न सर्बोच्चले आदेश गरेको हो ।
त्यसको लागि सर्बोच्चले यहि असार २३ गते आईतबार पेशी तोकेको छ ।