नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले प्रधानमन्त्री पुष्पपकमल दाहाललाई राजीनामा गरेर मार्गप्रसस्त गर्न आग्रह गर्नुभएको छ । वर्तमान सत्ता समिकरण छोडेर काँग्रेससंग सरकार सञ्चालन देखि संविधान संशोधन सम्मको सहमति भएपछि मंगलबार विहान प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेटेका ओलीले राजनीति नयाँ कोर्षमा प्रवेश गरेकाले पदबाट राजीनामा गरेर मार्ग प्रसस्त गर्न आग्रह गर्नुभएको हो ।
भेटमा प्रधानमन्त्री दाहालले सहमति कसरी भत्कीयो भनी प्रश्न गर्नुभएको थियो । राजनीतिक स्थायित्वका लागि केही कदम उठाउनै पर्ने भएकाले त्यस प्रकृयामा माओवादी पनि सहभागि बनोस भन्ने आफूहरुले चाहेको ओलीले बताउनु भएको थियो ।
तर प्रधानमन्त्री दाहालले तत्काल राजीनामा गर्ने विषयमा कुनै प्रतिक्रिया जनाउनु भएन । बरु संसदमा विश्वासको मतको सामना गर्ने माओवादी केन्द्रले निर्णय लिएको छ । आजै बसेको माओवादीका मन्त्रीहरु सहित बसेको पदाधिकारी बैठकले तत्काल राजीनामा नगर्ने र संसदमा विश्वासको मत लिने निर्णय गरेको हो ।
त्यस्तै सरकारको अर्को घटक राष्ट्रिय स्वतन्त्र पार्टीले पनि तत्काल सरकार नछोड्ने निर्णय लिएको छ । नयाँ बन्ने काँग्रेस एमाले सरकारमा नजाने पनि उसले निर्णय लिएको छ ।
राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्नुपर्ने र त्यसका लागि राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नेगरी काँग्रेस एमाले बिच नयाँ सत्ता समिकरण बनेको छ । सोमबार मध्यरातमा कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका हुन् । निर्वाचनयता दुई वर्ष नपुग्दै माओवादीबाट आलोपालो धोका पाएका दुवै दलले अब सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका छन् ।