राजीनामा गर्न बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरु राजीनामा नगरी फर्किएका छन् ।
माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि सरकारमा रहेकाे रास्वपाका चारै जना मन्त्रीले आज बिहिबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजिनामा पत्र बुझाउन बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिई फर्किएका हुन् । बिहानको छलफलमा प्रधानमन्त्रीले आफूले संवैधानिक अधिकार प्रयोग गर्ने र संसदलाई जवाफ दिने बताएकाले तत्कालै विश्वासको मत लिन आग्रह गर्दै राजीनामा नदिई फर्किएका हुन् ।
रास्वपाबाट सरकारमा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।
मंगलबार बसेको रास्वपाको पदाधिकारी बैठकले कांग्रेस–एमाले गठबन्धनको सरकारमा सहभागी नहुने निर्णय गरिसकेकाे छ । नेपाली काँग्रेस र एमाले विचमा सत्ता समिकरण बनेपछि हिजाे बुधबार मात्रै एमालेका मन्त्रीहरुले राजिनामा दिदै सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे थियाे ।