प्रदेश सरकारमा पार्टीबाट भएका मन्त्रीले राजीनामा गरि सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको एमालेले लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको लागि पहल गरेको छ ।
विहिबार सरकार छोडेको एमालेले शुक्रवार नै प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयलाई नयाँ सरकार गठनको पहल सुरू गरिएको जानकारी गराएको हो ।
लुम्बिनीमा चैत २३ गते एमालेसहित ५ दल र एक स्वतन्र प्रदेश सभा सदस्यसहितको समर्थनमा माओवादी केन्द्रका जोखबहादुर महरा मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । एमालेले सरकारलाई दिएको समर्थत फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको छ ।
एमालेबाट संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री लीला गिरीकै नेतृत्वमा सरकार बनाउन एमालेले पहल गरेको छ । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक हुन्छ ।
काँग्रेस एमालेको अहिले बनेको नयाँ सत्ता समिकरण अनुसार लुम्बिनी प्रदेश सभामा एमालेको २९ र काँग्रेसका २७ गरी ५६ सांसद छन् । यसमा साना दलहरूलाई पनि समेट्ने एमाले र कांग्रेसको योजना छ ।
लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४/४, लोकतान्तिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीका ३÷३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक/एक जना तथा एकजना स्वतन्त्र गरि ८७ प्रदेश सभा सदस्य छन् ।