लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सोमबार नियुक्त हुनु भएका मुख्यमन्त्री आचार्यले आज बुधबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा पद तथा गोपनीयताको शपथ लिनु भएको हो ।
एमाले संसदीय दलका उपनेता आचार्यलाई प्रदेश प्रमुख अमिक शेरचनले सोमबार मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । दलको नेतालाई रोकेर उपनेता आचार्यलाई मुख्यमन्त्री बनाईएपछि रुष्ट हुनु भएका संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्रीको शपथ समारोहमा उपस्थित हुनु भएन ।
२९ प्रदेश सभा सदस्य रहेको एमाले र २७ प्रदेश सभा सदस्य रहेको काँग्रेसको समर्थनमा एमाले उपनेता आचार्य मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । काँग्रेस एमाले गरी ५६ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त आचार्य दुई तिहाई नजिक हुनुहुन्छ । प्रदेशमा दुई तिहाईको लागि ५८ सांसदको आवश्यकता पर्छ । मुख्यमन्त्री आचार्यलाई लोसपा, नाउपा, जनमत, जसपा, जसपा नेपाल समर्थन गर्ने जनाएका छन् ।