छाेराकाे निधनपछि भिमबहादुरलाई परिवार पाल्ने चिन्ता : अध्यक्ष कुवरद्वारा आर्थिक सहयाेग

1.3K

छाेराकाे निधनपछि भिमबहादुरलाई परिवार पाल्ने चिन्ता : अध्यक्ष कुवरद्वारा आर्थिक सहयाेग

गुल्मीकाे मदाने गाउँपालिका वडा नं. ७ नेटाखर्कका ऋषि घर्तीकाे निधनमा दु:ख व्यक्त गर्दै गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुवरले आर्थिक सहयाेग प्रदान गर्नुभएकाे छ । विपन्न परिवारका भिमबहादुर घर्तीकाे छाेरा ३३ वर्षीय ऋषिकाे हृदयघातका कारण विहिबार निधन भएकाे थियाे ।
६ महिना अघि श्रीमती गुमाएका भिमबहादुरले परिवारकाे लालनपालन गर्ने छाेरा पनि गुमाएकाे र स्वर्गीय ऋषिकाे काज किरिया गर्ने खर्च समेत अभाव देखिएकाले आफूले पालिकाबाट पाउने सेवा सुविधा काेषबाट २५ हजार रुपैंया आर्थिक सहयाेग प्रदान गरिएकाे अध्यक्ष महेन्द्रबहादुर कुवरले बताउनु भयाे ।
त्यसैगरी दु:खमा परेकाे घर्ती परिवारलाई पालिकाकाे विपद् काेषबाट खाद्यान्न समेत प्रदान गरिएकाे वडा नं. ७ का वडा अध्यक्ष सन्ताेष केसीले जानकारी गराउनु भयाे ।
पालिका अध्यक्ष कुवर, वडा अध्यक्ष केसी सहित समाजसेवी सुनिल थापा, गुञ्जन भट्टराई, भागवत भट्टराई, भानु पन्थी, भानु पन्थी लगायतकाे टाेलीले शनिबार दशैंकाे दिन घर्तीकाे घर पुगेर २५ हजार रुपैंयाकाे चेक सहित खाद्यान्न हस्तान्तरण गरेकाे हाे ।
छाेरा ऋषिकाे निधनपछि भिमबहादुरकाे परिवारमा बुहारी कमला सहित ११ वर्षीया रञ्तिता, ७ वर्षीया रेजिना र डेढ महिनाकी रक्षा तीनवटी नातिनीहरु छन् । स्वर्गीय ऋषिकी श्रीमती कमला र जेठी छाेरी रन्जिता किरिया बसेका छन् ।
ऋषिकाे निधनपछि भिमबहादुरलाई परिवारका सदस्यहरुकाे लालनपालनकाे चिन्ता छ । याे परिवारलाई सहयाेगका लागि पालिकाले अपिल समेत गरेकाे छ ।
मदाने गाउँपालिकाका अध्यक्ष कुवरले आफूले पालिकाबाट पाउने सेवा सुविधा वापतकाे रकम पार्टीकाे खातामा जाने र पार्टी समितिकाे निर्णयमा उक्त रकम खर्च गर्ने गरी व्यवस्था मिलाउनु भएकाे छ । अध्यक्ष कुवर नेपाली काँग्रेस मदानेका पालिका सभापति हुनुहुन्छ ।