लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकार कार्यविभाजन नियमावली हेरफेर गरेको छ । आइतबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली २०७९ को अनुसुची १ र २ लाई हेरफेर गर्ने निर्णय गरेको हो ।
सो निर्णयसँगै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सामाजिक विकास मन्त्रालयमा गाभिएको छ भने छुट्टै युवा तथा खेलकुद मन्त्रालय बन्ने भएको छ । प्रदेश मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी अन्तरगत सरकारले कार्यविभाजन नियमावली हेरफेर गर्ने निर्णय गरिएको सकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले प्रदेशको राजस्व बढाउने आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको अध्यक्षतामा कार्यदल बनाउने निर्णय गरेको छ । बैठकले प्रदेशस्तरीय मदरसा शिक्षा समन्वय समितिको उपाध्यक्ष महसुद खाँलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सरुवा भएर लुम्बिनी प्रदेशमा आएका डा.रामेश्वर देवकोटालाई पाल्पा अस्पतालमा कामकाजका लागि खटाउने निर्णय गरेको छ ।