बुटवल उपमहानगरपालिकाले भन्यो : बुटवलको बधशाला कानुन अनुसार नै सञ्चालन हुन्छ

1.3K

बुटवल उपमहानगरपालिकाले भन्यो : बुटवलको बधशाला कानुन अनुसार नै सञ्चालन हुन्छ

बुटवल उपमहानगरपालिकाले बुटवलमा सञ्चालनमा आएको पशु बधशाला कानुन अनुसार नै सञ्चालन हुने प्रष्ट पारेको छ । उपमहानगरपालिकाले मंगलबार कार्यालयमा पत्रकार सम्मेलन गरि कानुन अनुसार नै सञ्चालन हुने जानकारी गराउँदै त्यसमा सबैको साथ र सहयोग गर्न आग्रह गरेको हो ।
बधशाला सञ्चालन सम्बन्धि बिवादमा कानुन मान्दैनौं भन्नेलाई जिम्मेवार निकायले साथ दिनु आश्चर्यजनक भएको बताउँदै उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले मासु व्यवसायीलाई त्यहाँ जान किन समस्या भयो नगरपालिकामा लिखित रुपमा दिन पनि आग्रह गर्नुभयो ।
सोमबार मात्रै नगरपालिकाले बधशालामा जान के कती कारणले समस्या भयो भन्ने विषयमा लिखित रुपमा समस्याहरु राख्न मासु व्यवसायी संघ रुपन्देहीलाई पत्राचार गरेको छ ।
कानुन अनुसार बुटवल उपमहानरपालिकाले प्रदेश सरकारको सहयोगमा निर्माण गरेको आधुनिक पशु बधशालामा खसी बोका बध गर्नुपर्ने नियम बिपरित मासु व्यवसायी संघ नेपाल रुपन्देहीले आफुहरूले नै खसी बोका बध गर्न पाउनुपर्ने माग सहित बधशाला नजाने अडान लिई आन्दोलन गर्दै आएका छन् ।
बुटवल उपमहानगरपालिका भित्र रहेका ७१ वटा मासु व्यवसायीहरु मध्ये ४ वटा मात्रै मासु व्यवसायीहरुले पशु बधशालाबाट मासु ल्याएर बिक्री गर्दै आएका छन् । यसरी स्वच्छ मासु बिक्री गर्दै आएका व्यवसायीहरुलाई मासु व्यवसायी समितिबाट मासु नबेच्नको लागि ‘धम्की समेत आएको’ भन्दै बुटवल उपमहानरपालिकामा गुनासो गरेको पनि उहाँले बताउनु भयो । व्यवसायीहरु बधशालामा जान चाहेपनि व्यवसायिक संस्थाले रोकेको उहाँले बताउनु भयो ।
‘कानुन मान्दैनौं भन्न मिल्दैन, अहिले ५ वर्षलाई दिईएको हो, यसलाई फूलफेजमा चलाऔं ।’ उहाँले भन्नुभयो–‘त्यसपछि टेण्डर हुँदा अरु संस्थालाई पनि आउन सक्छ ।’
मासु व्यवसायी समितिमा आवद्ध भएका ७ जना व्यवसायीहरुले अहिले पशु बधशालामा बध गरेको स्वच्छ, प्रमाणित मासु बिक्री गर्दै आएका छन् । नवदुर्गा लागेपछि हाल सम्म ५० लाखको मासुको कारोबार बधशालाबाट भएको छ । एक जना व्यवसायीले ४४ वटा सम्म खसी बोका बधशालामा बध गरेर बिक्री गरेको नगरपालिकाले जानकारी गराएको छ ।
उपमहानगरपालिकाका अनुसार कानूनी प्रक्रिया नै पुरा नगरी सुरुवाती चरणमा बधशालामा सहभागी हुन आएको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिको कार्यपालिका बैठकबाट २०८० जेठ ३ गते ठेक्का रद्द गर्ने निर्णय गरेको र पछि दुई पटक सम्म पनि उक्त प्रालि उक्त ठेक्का प्रक्रियामा समावेश नभएको कारण पछिल्लो समयमा मुक्तिनाथ लाईभस्टक बैंकले उक्त बधशाला सञ्चालन गरेको हो ।
उपमहानरपालिकाका योजना महाशाखा प्रमुख ईन्जिनियर सुमन श्रेष्ठले अहिलेको अवस्थामा ५ बर्षको लागि सार्वजनिक खरीद ऐन बमोजिम सेवा सञ्चालनको लागि ठेक्का दिइसकेको अवस्थामा ठेक्का रद्द गर्ने र अर्को कम्पनीलाई दिने अवस्था नभएको बताउनु भयो । उहाँले ५ बर्ष पछि नयाँ ढंगबाट जान सकिने पनि बताउनु भयो ।
मासु व्यवसायीहरुले स्थापना गरेको कम्पनी बुटवल मासु उत्पादन तथा प्रशोधन कम्पनी प्रालिसंगै सुरुवाती दिनमा मासु बध गर्ने अनुमति पत्र नभएको, सार्वजनिक निजी साझेदारी अन्तर्गत व्यवसायीहरुले सञ्चालन गर्न दावी पेश गर्दा कानूनीरुपमा व्यवसायीहरुको लगानी नभएको, सञ्चालनको लागि पनि व्यवसायीहरुले कुनै पनि लगानी नगरेको, साथै बीड डकुमेन्ट पेश गर्दा बर्षको निश्चित रकम भन्दा पनि नाफाको ५ प्रतिशत मात्रै दिने गरी बीड प्रस्तुत गरिएको लगायतका कारण देखाउँदै कार्यपालिका बैठकबाट उक्त ठेक्का सम्झौता मनसाय रद्द गरिएको थियो ।
बुटवल उपमहानरपालिका र प्रदेश सरकारको संयुक्त लगानीमा बुटवल १० रामनगरमा रहेको बुटवल औद्योगिक क्षेत्रको जग्गामा २५ वर्षको लागि भाडामा लिएर पशु बधशाला सञ्चालनमा रहेको छ । अहिले मुक्तिनाथ लाइभस्टक बैंकले सञ्चालन गर्दै आएको यो पशुबधशालामा प्रति खसी बोका, पशु स्वास्थ्य ऐन अनुसार चेक जाँच गरेर मात्रै ७ सय रुपैयाँमा बध गरेर व्यवसायीहरुलाई दिने गरिएको छ ।