अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणनामा रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्प नतिजामा अगाडि छन् । कुल ५३८ इलेक्ट्रोरल भोट मध्ये हालसम्म ४३८ इलेक्ट्रोरल भोट गणना भईसकेको छ । जसमा ट्रम्पले २४६ इलेक्ट्रोरल भोट पाएका छन् भने डेमोक्रेटिक उम्मेद्वार कमला ह्यारिसले १८७ इलेक्ट्रोरल भोट पाएकी छन् ।
अब २४ इलेक्ट्रोरल भोट पाएमा ट्रम्प अमेरिकाको राष्ट्रपति निर्वाचित हुनेछन् । जनसंख्याको आधारमा अमेरिकाका ५० राज्यमा इलेक्टोरल कलेज भोट दिने गरिन्छ । कूल २७० इलेक्टोरल कलेज भोट पाउने उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।
अमेरिकामा राष्ट्रपति निर्वाचनका लागि सात वटा राज्यको स्वीङ स्टेट निर्णायक छन् । त्यसमा पनि ट्रम्पले जर्जिया र नर्थ क्यारोलिना दुईवटामा जित हासिल गरेका छन् । अमेरिकाका स्वीङ स्टेट भनेर एरिजोना, जर्जिया, मिशिगन, नेभाडा, नर्थ क्यारोलिना, पेन्सिलभेनिया र विस्कन्सिनलाई चिनिन्छ ।
१६ इलेक्टोरल भोट रहेको जर्जिया राज्यमा सन् २०२० को निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले जितेका थिए । १६ इलेक्टोरल भोट नै रहेको नर्थ क्यारोलिनामा भने सन् २०२० मा ट्रम्पले नै जितेका थिए ।