पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा ल्याएसँगै विरोध प्रदर्शन गरिएको छ । सरकारी वकिलको कार्यालयमा बयान चल्दै गर्दा बाहिर रवि समर्थक र सहकारी पीडित पक्षले छुट्टाछुट्टै नाराबाजी गरिरहेका छन् ।
सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणको मुद्दामा पक्राउ परेका सभापतिलाई दिउँसो १२ बजे पोखराबाट भैरहवा ल्याइएको हो ।
सभापति लामिछानेको प्रतीक्षामा रहेको उनका समर्थककहरुले गौतमबुद्ध विमानस्थल अगाडि बिहानैबाट जम्मा भई प्रदर्शन गरेका थिए । मौसम खराबीका कारण दिउँसो मात्रै आएका लामिछानेलाई विमानस्थलबाट बयानका लागि सोझै सरकारी वकिलको कार्यालय लगियो ।
लामिछानेको बयान भइरहदा राष्ट्रिय स्वतन्त्र पाटीका कार्यकर्ताहरुले भैरहवाको लुम्बिनी गेटबाट विरोध ¥याली निकाली नगर परिक्रमा गरिरहेका छन् । त्यस्तै सुप्रिम सहकारी पीडितहरुले समेत जिल्ला सरकारी वकिल कार्यालय नजिक प्रदर्शन गरेका छन् ।