विश्व वाल दिवसमा बालबालिकालाई चाईल्ड एजुकेशन सम्बन्धि प्रशिक्षण

1.3K

विश्व वाल दिवसमा बालबालिकालाई चाईल्ड एजुकेशन सम्बन्धि प्रशिक्षण

विश्व वाल दिवसको अवसरमा रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले विद्यालयका बालबालिकालाई चाईल्ड एजुकेशन सम्बन्धि प्रशिक्षण गरेको छ । विश्व वाल दिवसको अवसरमा क्लवले बुधबार बुटवल उपमहानगरपालिका वडा नं. १२ स्थित सिद्धि चिल्ड्रेन एकेडेमीका विद्यार्थीलाई चाईल्ड एजुकेशन एण्ड लिट्रेसी सम्बन्धि प्रशिक्षण गरेको हो ।
विद्यालयमा आयोजना गरिएको कार्यक्रममा उद्घोषक प्रशिक्षक सुमन श्रेष्ठले वाककला, टोस्टो मास्टर बुटवलकी संस्थापक अध्यक्ष नेहा अग्रवालले बालमनोविज्ञान र प्रविधिको प्रयोग तथा नेपाल बैंक लिमिटेडका प्रशिक्षक शिवसुन्दर पोखरेलले वित्तिय साक्षरता सम्बन्धि प्रशिक्षण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै रोटरी डिष्ट्रिकका एसिस्टेन्ट गभर्नर सुमान गोपालाचार्यले बालबालिकालाई चाईल्ड एजुकेशन सम्बन्धि प्रशिक्षण गरेर राम्रो काम गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले यस्ता प्रशिक्षणले बालबालिकालाई औपचारिक शिक्षासंगै अतिरिक्त ज्ञानको समेत विकास गर्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस अवसरमा क्लवका पूर्वअध्यक्ष तथा रोटरी डिष्ट्रिकका जोईन्ट सेक्रेटरी कृष्णप्रसाद शर्माले यस्ता कार्यक्रमले बालबालिकामा अतिरिक्त ज्ञानकोसंगै रोटरीसम्बन्धि समेत जानकारी हासिल गर्ने बताउनु भयो ।
कार्यक्रममा क्लवका अध्यक्ष देवीराम पाण्डेले विश्व वाल दिवसको अवसरमा वालबालिकालाई औपचारिक ज्ञानसंगै अतिरिक्त शिक्षाको लागि चाईल्ड एजुकेशन सम्बन्धि प्रशिक्षण गरिएको बताउँदै क्लवले यस्ता कार्यक्रमलाई निरन्तरता दिईने बताउनु भयो ।
क्लवका सहकोषाध्यक्ष केवश कुवरको संयोजनमा भएको कार्यक्रममा क्लवका हेल्थ कमिटि चियर तथा उक्त विद्यालयका अध्यक्ष राजु गुरुङ, क्लवको सम्मानित सदस्य भुवनसिंह विश्वकर्मा, क्लवका सचिव अर्जुनप्रसाद आचार्य लगायतले भनाई राख्नुभएको थियो ।