‘बुटवल, भारतीय पर्यटकको ट्रान्जिक्ट बन्न सक्छ’

1.3K

‘बुटवल, भारतीय पर्यटकको ट्रान्जिक्ट बन्न सक्छ’

बुटवललाई लुम्बिनीसँग जोडेर पर्यटकीय विकास गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । बुटवलमा जारी खाना महोत्सव तथा माघी मेलाको अवसरमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले मंगलबार बुटवलमा गरेको पर्यटन गोष्टीमा बोल्दै सहभागीहरुले बुटवलमा पर्यटकीय गतिविधिलाई चलायमान बनाउन रचनात्मक कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।
बुटवलमा पर्यटकीय पूर्वाधारसँगै पुराना सम्पदाहरु पनि रहेका ती क्षेत्रको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा ध्यान दिनुपर्ने उनीहरुको भनाइ थियो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको पर्यटकीय विकासको लागि उपमहानगरले ध्यान दिएको बताउनुभयो । उहाँले बुटवलमा दुई वटा केबलकार स्थापना भएको र अरु थुपै्र धार्मिक तथा सांस्कृतिक सम्पदा रहेको नगर सरकारले पर्यटन प्रवद्र्धनमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पर्यटन विकास परिषद लुम्बिनीका कार्यकारी निर्देशक रामु जोशीले पर्यटकीय विकासको लागि सहज यातायात र होटलबाट राम्रो आथित्य सत्कार हुनुपर्ने उल्लेख गर्नुभयो । परिषदका बोर्ड सदस्य तथा होटल व्यवसायी महासंघका पूर्व अध्यक्ष माधव नेपालले तिनाउ पारीको बुटवललाई पर्यटकीय विकास गर्न सकिने धारणा राख्नुभयो । महासंघका निवर्तमान अध्यक्ष हिराध्वज शाहले पछिल्लो समय भारतीय पर्यटकको आकर्षण बढेको भन्दै बुटवल पर्यटनको ट्रान्जिट हव बन्न सक्ने धारणा राख्नुभयो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अर्थशास्त्री हुमराज भुसालले बुटवल विगत देखिको आर्थिक केन्द्र रहेको र यहाँ पर्यटकीय सम्भावना पनि पर्याप्त भएको बताउनु भयो । पर्यटनका अध्यता युवराज कंडेलले बुटवल पहिलेदेखि नै भारत र तिब्बतलाई जोड्ने ठाउँ भएको र अब पनि उत्तर र दक्षिणको पर्यटकीय हबको रुपमा विकास गर्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले एउटा पर्यटकीय क्षेत्रबाट अर्को पर्यटकीय क्षेत्रमा पुग्न सहज यातायातको व्यवस्था हुनुपर्ने भनाई राख्नुभयो । उहाँले पर्यटन विकास हुन सक्यो भने यस क्षेत्रका होटलसंगै अरु व्यवसायले पनि लाभ लिन सक्ने भएकाले त्यसतर्फ सबैको ध्यान जान जरुरी रहेको भनाई राख्नुभयो ।
होटल तथा रेष्टुरेन्ट व्यवसवायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले पूर्वपश्चिम र उत्तर दक्षिणको संगम बुटवल पुरानो ऐतिहासिक व्यापारक केन्द्र मात्रै नभएर भोलीका पर्यटनको ट्रान्जिक्ट पोईन्ट पनि बन्नसक्ने बताउँदै त्यसका लागि आजैदेखि नै योजना बनाएर काम गर्नुपर्ने भनाई राख्नुभयो । यहाँको पर्यटकीय विकास हुँदा पर्यटन उद्योग मात्रै नभएर अन्य व्यवसायीले पनि लाभ लिन सक्ने बताउँदै पर्यटकीय विकासका लागि सबैको सहकार्य आवश्यक रहेको भनाई राख्नुभयो ।
कार्यक्रममा होटल व्यवसायी महासंघका लुम्बिनी प्रदेश अध्यक्ष महेन्द्र श्रेष्ठ, राष्ट्रिय उद्यान महासंघका अध्यक्ष खेम लुइटेल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डे, महासचिव अर्जुन थापा लगायतले बोल्दै बुटवलसँगै लुम्बिनी प्रदेशका अन्य गन्तव्यहरुलाई पनि जोडेर पर्यटन प्रवद्र्धनका कार्यक्रम ल्याउनुपर्ने धारणा राख्नुभयो ।
अंग्रेजी नयाँ वर्ष र माघेसंक्रान्तिको अवसर पारेर होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले आयोजना गरेको खाना महोत्सव तथा माघी मेला सोमबारदेखि सुरु भएको हो । तीनदिनसम्म सञ्चालन गरिने मेला भोली बुधबार सकिनेछ ।
‘नेपाली मौलिक कला संस्कृति र रैथाने खानाका परिकारहरु हाम्रो शान, शहरदेखि गाउँसम्मको पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान’ भन्ने नारा सहित सञ्चालन गरिएको मेलामा रैथाने तथा स्थानीय तथा विभिन्न जातजातीका साँस्कृतिक पहिचानका परिकारहरु, विविध साँस्कृतिक कार्यक्रममा विभिन्न जातजाती थारु, मगर, नेवार, भजनकिर्तन जस्ता विविधता दिने सांस्कृतिक कार्यक्रम सहित स्थानीय तथा राष्ट्रिय कलाकाहरुको प्रस्तुती रहनेछ भने डिजे र स्थानीय दोहोरी साँझ तथा कला केन्द्रहरुका कलाकारहरुको प्रस्तुती रहने संघका सहसचिव तथा प्रचारप्रसार समितिका संयोजक अर्जुन पोखरेलले जानकारी गराउनु भयो । उहाँका अनुसार महोत्सवमा ७० वटा स्टलमा विभिन्न जातजाती तथा रैथाने खानाका परिकारहरु पस्किएको छ ।