गुल्मीको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरले अभिभावक गुमाएका घरबार विहिन बालबालिकालाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ । घरबार विहिन भई आफन्तको घरमा बसेका वडा नं. ३ सिर्सेनी बिधिखोलाका महेन्द्र घर्ती कुँवरको निधन भएपछि काजकिरियाका लागि अध्यक्ष कुँवरले छोराछोरीलाई १५ हजार रुपैंया आर्थिक सहयोग प्रदान गर्नुभएको हो ।
गुल्मीको मदाने गाउँपालिका वडा नं. ३ सिर्सेनी बिधिखोलाका घर्ती रोजगारीको सिलसिलामा श्रीमती साथमै लिई भारत जानुभएको थियो । छोरा र छोरी दुई सन्तानको जन्मभएपछि श्रीमतीले साथ छोड्नुभयो, अन्यत्रै विवाह गर्नुभयो । बालबच्चाको रेखदेख गर्ने श्रीमतीले छोडेपछि घर्तीले आफ्ना छोराछोरीलाई मालिकाको वडा नं. ६ पजिमखोला मावली घरमा छोडेर भारत जानुभएको थियो ।
रोजगारीका लागि भारत गएका घर्तीलाई मधुमेह (जण्डिस) भयो । त्यहाँ बसेर काम गर्ने स्थिती भएन । जण्डिस बोकेर उहाँ नेपाल फर्किनुभयो । तर आफ्नो थातथलो थिएन । बिधिखोला दाजुको घरमा आएर बस्नुभएको थियो । आएको आठौं दिनको दिन जण्डिसका कारण घर्तीको निधन भएपछि १३ वर्षकी छोरी मुस्कान र ११ वर्षका छोरा पवनले आफ्नो अभिभावक गुमाए । उनीहरुसंग अव न बस्ने बास, न टेक्ने ठाउँ, न समाउने हाँगो केही पनि छैन ।
उनीहरु अहिले स्वर्गीय घर्तीको दाजुको घरमा आफ्नो बाबुको काजकिरियामा छन् । यस्तो अवस्थामा केही भएपनि राहत होस् भन्नको लागि १५ हजार रुपैंया आर्थिक सहयोग प्रदान गरिएको अध्यक्ष कुँवरले बताउनु भयो । नेपाली काँग्रेस मदानेका सभापति समेत रहनुभएका कुवँरले अध्यक्षमा निर्वाचित भएपछि पालिकाबाट पाउने सेवा सुविधा वापतका रकम सिधै पार्टीको खातामा जाने व्यवस्था मिलाउनु भएको छ भने पार्टीको खातामा आएको पैसा पार्टी निर्णयबाट खर्च गर्ने गरिएको उहाँले बताउनु भयो । सोही अनुसार पार्टीको निर्णयमा अभिभावक गुमाएका घरबार विहिन बालबालिकालाई सहयोग गरिएको हो ।