राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’ आज हुँदैछ । आज शुक्रबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको ब्रक थ्रु गर्नेगरी कार्यक्रम तय गरिएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डको अति दुर्घटनास्थल सिद्धबाबामा सुरुङमार्ग आयोजना अगाडि बढाइएको हो । कुल १ हजार १२६ मिटर लामो सुरुङमा मुख्य सुरुङमार्ग छिचोल्न डेढ मिटर मात्र बाँकी छ । सुरुङको दक्षिणतर्फ ६०८ र उत्तरतर्फ ४७९.५ मिटर सुरुङ खनिएको छ ।
बाँकी १.५ मिटर भाग आज छिचोलिने आयोजनाका प्रमुख कृष्णराज अधिकारी जानकारी दिनुभयो । उहाँका अनुसार सुरुङ छिचोलिएपछि अन्य कामलाई तीव्रता दिइनेछ । मुख्य टनेलबाट १५१, २६१ र ३३० मिटरका तीनवटा बाईपास टनेल यस अगाडि नै छिचोलिएको छ ।
आयोजनाकी सूचना अधिकारी ईञ्जिनियर सविता ज्ञवालीका अनुसार सुरुङमार्गको भौतिक प्रगति ४०.१८ प्रतिशत र वित्तीय प्रगति ३९.९ प्रतिशत भएको छ । ब्रेक थ्रु पछि अन्य सुरुङभित्रको भुइँ र भित्तामा लाइनिङ गर्ने, गाडी गुड्ने क्षेत्र निर्धारण गरेर पेभमेन्ट ढलान, विद्युतीकरण, भेन्टिलेसन, नालीलगायतका कामलाई गति दिइने उहाँले बताउनु भयो ।
सिद्धबाबा क्षेत्रमा अहिलेको सडकमा पहिरो जान रोक्न ‘रक सेड’ प्रविधिबाट दक्षिणमा एक हजार ४९५ वर्ग मिटरको काम भएको छ । उत्तरतर्फ ४९५ वर्ग मिटर ‘प्रोटेक्सन’ को काम अघि बढेको छ । अहिले चालु सडकमा रक सेड, रक फल ब्यारियर र स्लोप प्रोटेक्सनको काम हुनेछ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख रुपियाँमा सुरुङमार्गको ठेक्का लिएको छ । इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलको ठेक्का भएको हो ।