मुलुकमा विकास निर्माणको जग बसाल्ने काम काँग्रेसकै नेतृत्वमा : उपसभापति खड्का

1.3K

मुलुकमा विकास निर्माणको जग बसाल्ने काम काँग्रेसकै नेतृत्वमा : उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति तथा पुर्व उपप्रधानमन्त्री पुर्णबहादुर खड्काले नेपाली काँग्रेस नेतृत्वको सरकारले बसालेको आर्थिक जगको आधारमा मुलुकको विकास निर्माणले गति लिएको बताउनु भएको छ । उहाँले नेपाली काँग्रेसले लिएको उदार अर्थतन्त्रको नीति र काँग्रेसको सरकारका पालामा भएका नीतिगत निर्णयका आधारमा मुलुकमा विकास निर्माणको जग बसेको भन्दै देशमा अहिले देखिएका विकास निर्माण त्यसैको परिणाम भएको दाबी गर्नुभयो ।
पार्टीले हालै गठन गरेको पूर्व आप्रवासी समन्वय विभागले शनिबार बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उपसभापति खड्काले नेपाली काँग्रेस नेतृत्वको सरकारका पालामा देश विकासको योजना बनेको बताउनु भयो । देशमा भएका राजनीतिक परिवर्तनहरू र विकास निर्माणको नेतृत्व कांग्रेसले नै गर्दै आएको बताउदै उहाँले आफुले गरेका कामको बारेमा जनतामाझ पु¥याउन नसक्दा त्यसको फाइदा अन्य दलले उठाएको उल्लेख गर्नुभयो ।
धेरै गृहकार्य गरेर सरकारले अध्यादेश ल्याएको भन्दै उहाँले
उद्योग र अर्थतन्त्रमा तत्काल उपलब्ध हुनुपर्ने सुविधाहरू प्रदान गर्न अध्यादेश आएको बताउनु भयो । उहाँले अध्यादेश ल्याउनुमा काँग्रेसबाट प्रतिनिधित्व गर्ने नेताहरुले पर्याप्त गृहकार्य गरेको भन्दै विज्ञहरूसँगको परामर्श तथा सुझावबाट ल्याएकोले अध्यादेश बारे फैलाइएका भ्रमबाट जनतालाई मुक्त गराउन जरुरी रहेको भनाई राख्नुभयो । काँग्रेसमा पुरानो संस्कार र आत्मीयता फर्काउन आवश्यक रहेको बताउदै उहाँले अहिलेको समयको माग अनुसार देशको नेतृत्व गर्ने अवसर पनि काँग्रेसको जिम्मामा आएको बताउनु भयो ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आप्रवासीहरू देशको अर्थतन्त्रको मेरुदण्ड भएको बताउदै पार्टीको हरेक तहमा पूर्वआप्रबासीहरुको पनि प्रतिनिधित्व आवश्यक भएको उल्लेख गर्नुभयो । उहाँले आप्रवासीहरूको सिप, ज्ञान र पूँजीलाई आत्मसाथ गरी उनीहरूलाई राजनीतीमा समेत प्राथमिकता दिन सुझाव दिनुभयो ।
अर्का केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले विदेश जानेसँगै फर्केर आउने क्रम पनि चलेको भन्दै आप्रवासीहरूको सिपलाई देश विकासमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
पूर्व आप्रवासी समन्वय विभागका लुम्बिनी प्रदेशका अध्यक्ष यदुनाथ पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य निमा गिरी, पूर्व आप्रवासी समन्वय विभागका संयोजक दिनेश कोइराला, नेपाली काँग्रेस लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश राना, रुपन्देही जिल्ला सभापति रामकृष्ण खाँण, जनसंपर्क समिति समन्वय विभाग सदस्य सुनिता जिसी कुँवर, वैदेशिक रोजगार विभाग सदस्य चित्र केसी, नेपाली नजसम्पर्क समितिका संस्थापक डा. एस.डी. शर्मा, सुवास लोहनी लगायतले भनाई राख्नुभएको थियो ।