बुटवलमा औपचारिक कार्यक्रममा खादा–माला प्रयोगमा निषेध

1.3K

बुटवलमा औपचारिक कार्यक्रममा खादा–माला प्रयोगमा निषेध

बुटवल उपमहानगरपालिकाले औपचारिक कार्यक्रममा खादा र माला प्रयोगमा निषेध गर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न नगरसभाको अधिवेशनले धार्मिक बाहेकका कार्यक्रममा खादा र माला प्रयोग नगर्ने निर्णय पारित गरेको हो ।
नगरसभाले औपचारिक कार्यक्रमहरुमा मञ्चमा ७ जनाभन्दा बढीले आसन ग्रहण नगर्ने र औपचारिक कार्यक्रमहरुलाई छरितो बनाउँदै लैजाने निर्णय गरेको छ । नगरसभाको बैठकमा प्रमुख खेलराज पाण्डेयले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो ।
सभामा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको विकासमा प्रदेश र संघीय सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रयास गरेपनि अपेक्षाअनुरुप बुटवलका मुख्य र ठूला समस्यामा साथ नपाएको बताउनु भयो । उहाँले आन्तरिक श्रोत र संघ र प्रदेशको अनुदानबाट जे जति बजेट छ त्यसैबाट बुटवलको विकासका कामलाई अगाडि बढाउने गरी कार्यक्रम र योजनाहरु अगाडि सारिएको जानकारी गराउनु भयो ।
उहाँले बुटवलको ज्योतिनगर पहिरो, तिनाउ नदीकिनारको बस्ती, तिनाउ करिडोरका कारण विस्थापितहरुको बारेमा संघ सरकारसँग पटक पटक छलफल भएपनि निकास ननिस्किएको उहाँले बताउनु भयो । बुटवलको विकास सबै पक्षको सहकार्यबाट मात्रै सम्भव रहेको भन्दै उहाँले विकासका कामले तीब्रता लिएको बताउनु भयो । उहाँले मुख्य सडकमा ट्राफिक लाइट जडान, हाइमास्ट लाइट जडान, बधशाला सञ्चालन, बसपार्कमा स्नानगृहसहितको शौचालय, मुख्य सडकको हरियाली जस्ता कामहरु सम्पन्न भइसकेको जानकारी गराउनु भयो ।
यस्तै, आम्दा अस्पतालमा पारामेडिकल अध्ययन शुरु र अस्पतालको स्तरोन्नति शुरु भएको र वडा नम्बर १३ र १७ मा १५–१५ बेडका अस्पताल निर्माण सम्पन्न भएको र छिटै सञ्चालन हुने जानकारी गराउँदै उहाँले बीटीआइमा ४० जना छात्रालाई निशुल्क अध्ययनको व्यवस्था, सीपमूलक तालिम र रोजगारका लागि नगरप्रमुख गृहणी महिला स्वरोजगार कार्यक्रम, मेयर युवा इलम कार्यक्रम, उपप्रमुख महिला आत्मनिर्भर कार्यक्रम, बाआमासँग नगरप्रमुख कार्यक्रम नियमित रुपमा सञ्चालन भइरहेको बताउनु भयो ।
युवालाई खेलमा आकर्षित गर्नका लागि विद्यालयस्तरीय मेयरकप फुटबल प्रतियोगिता, भलिबल प्रतियोगिता, क्रिकेट प्रतियोगिताहरु सञ्चालन गर्ने र खेलमैदानहरुको स्तरोन्नति गर्ने काम भइरहेको बताउँदै उहाँले चालु आर्थिक वर्षमा केही अधुरा कामले पूर्णता पाउने र एउटा नतिजा देखिने विश्वास व्यक्त गर्नुभयो ।
नगरसभामा उपप्रमुख सावित्रादेवी अर्यालले चालु आर्थिक वर्षका लागि संघ र प्रदेश सरकारमा केही ठूला योजनाको सिफारिश गर्ने र खर्च नहुने विकास बजेट शीर्षकान्तरसम्बन्धि गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।