नेपाली काँग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले समानुपातिक निर्वाचन प्रणाली रहिरहँदासम्म सत्ताका लागि गठबन्धन गरिनैरहनुपर्ने बताउनु भएको छ । उहाँले यो निर्वाचन प्रणाली नबदल्दा सम्म कुनै पनि दलले एकल बहुमत ल्याउन नसक्ने भएकाले त्यसलाई सुधार गर्न सकिन्छ कि भनेर नै संविधान संशोधनको सहमति सहित काँग्रेस एमालेको सरकार बनाईएको बताउनु भयो ।
नेपाली काँग्रेस क्षेत्र नं. २ रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको भेटघाट तथा सम्मान कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य समेत रहनुभएका नेता महतले पार्टीले लिएका नीति कार्यक्रम कार्यान्वयन गर्नका लागि सत्तामा जानै पर्ने र सत्तामा जानकालागि अरु दलहरुसंग गठबन्धन गर्नै बाध्यताका कारण निर्वाचन प्रणाली नबदल्दासम्म गठबन्धन भईनै रहने बताउनु भएको हो ।
‘सत्यको मुख बन्द हुँदा, मित्थ्याको थुतुनो चल्छ’ भन्ने विपि कोईरालाको मनाई स्मरण गर्दै उहाँले सत्य कुरालाई प्रसार गर्न नसकिएकाले सामाजिक सञ्चालमा गलत, मित्थ्या कुराको हावी भईरहेको भनाई राख्नुभयो । उहाँले नेपाली काँग्रेसको नीति सिद्धान्त राम्रो भएपनि संगठनमा समस्या हुँदा पार्टी केही कमजोर देखिएको बताउनु भयो । त्यस्तै पार्टीका नेता कार्यकर्तामा अनुशासनको पनि समस्या रहेको औंल्याउँदै आफू हुँदा सबै राम्रो र अर्को हुँदा सबै नराम्रो भन्ने प्रबृत्ति हटाउनु पर्ने भनाई राख्नुभयो ।

२०७४ को निर्वाचनमा पार्टीको आफ्नै चुनाव चिन्ह लिएर लड्दा पनि पार्टी भित्रकै घात अन्तरघातले नराम्रो परिणाम भोग्नु परेको स्मरण गर्दै उहाँले त्यहि नियती भोग्नु नपरोस भन्नको लागि २०७९ को निर्वाचनमा अरु दलहरुसंग गठबन्धन गरिएको त्यसले परिणाम पनि राम्रै दिएको भनाई राख्नुभयो ।
उहाँले काँग्रेसमाथि जनताको अपेक्षा पनि रहेको र अपेक्षा अनुसारका काम भएन भनेर असन्तुष्टि पनि रहेको बताउँदै अवका दिनमा जनताका अपेक्षा पुरा गर्नेगरी काम गर्ने दायित्वबाट चुक्न नहुने भनाई राख्नुभयो ।
त्यस अवसरमा नेपाल प्रेस युनियन रुपन्देहीबाट नेपाल पत्रकार महासंघमा निर्वाचित भएकालाई सम्मान गरिएको थियो । उनीहरुलाई पार्टी प्रवक्ता तथा केन्द्रीय सदस्य डा. महत, नेपाली काँग्रेस क्षेत्र २ रुपन्देहीका सभापति प्रजापाल गिरीले टिका, खादा लगाएर सम्मान गर्नुभएको थियो ।