बन्ला सैनामैनामा आधुनिक फोहोर प्रशोधन केन्द्र ?

1.3K

बन्ला सैनामैनामा आधुनिक फोहोर प्रशोधन केन्द्र ?

फोहोर व्यवस्थापन गर्न संघीय मन्त्रिपरिषद्बाट जग्गा उपलब्ध गराउने निर्णय भएसँगै रुपन्ददेही आसपासको फोहोर दीर्घकालिन व्यवस्थापनको लागि बाटो खुलेको छ । संघीय मन्त्रिपरिषदको यहि माघ २१ गते बसेको बैठकले रुपन्देहीको सैनामैना नगरपालिका–१० मा रहेको राष्ट्रिय वनको जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले वन तथा वातावरण मन्त्रालयबाट ल्याइएको प्रस्ताव अनुसार रुपन्देही जिल्लाको सैनामैनाको राष्ट्रिय वनको ३.५ हेक्टर जग्गा सैनामैना फोहर व्यवस्थापन केन्द्र निर्माणको लागि प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयसँगै बुटवल आसपासका पालिकाले फोहोर व्यवस्थापन प्रक्रियाले मूर्त रुप पाउने आशा गरिएको छ ।
सरकारको यो निर्णयसंगै सैनामैनालाई केन्द्र बनाएर बुटवल आसपासका पालिकाहरु मात्र नभई रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका पालिकाको फोहोर व्यवस्थापन गर्न सकिन्छ । अहिले रुपन्देही, कपिलबस्तु र नवलपसारी ३ वटै जिल्लाका पालिकाहरुले अस्थायीरुपमा फोहोर व्यवस्थापन गर्दै आएका छन् ।
सरकारले दिने निर्णय गरेको जग्गा घना जंगलको बीचमा बस्तीबाट टाढा र प्रशोधन केन्द्र निर्माण गर्दा फोहोरको दुर्गन्ध अन्यत्र फैलिन नदिने अत्याधुनिक प्रविधि जडान गरिने छ । सालझण्डी बजारदेखि एक किलोमिटर पश्चिम राजमार्गबाट ६ किलोमिटर उत्तरमा खोरमोर खोलाको नदी उकास जग्गामा फोहोर प्रशोधन केन्द्र स्थापनाको काम सुरु गरिएपनि जग्गाको भोगाधिकार प्राप्त गर्न बांकी रहेकाले काम रोकिएको थियो ।