थकाली युवा समितिद्वारा क्रिकेटर शक्ति गौचनलाई नगदसहित सम्मान

1.3K

थकाली युवा समितिद्वारा क्रिकेटर शक्ति गौचनलाई नगदसहित सम्मान

थकाली युवा समितिले क्रिकेटर शक्ति गौचनलाई सम्मान गरेको छ । थकाली समुदायबाट माथी उठेर थकालीको पहिचान सहित क्रिकेट खेलका माध्यमबाट विश्वमै देशलाई चिनाउन योगदान गरेको भन्दै थकाली युवा समितिको बुधबारदेखि बुटवलमा सुरु भएको दोस्रो राष्ट्रिय भेला तथा महाधिवेशनमा सम्मान गरिएको हो ।
उहाँलाई समितिका अध्यक्ष योगेन्द्र शेरचन, प्रतिनिधि सभा सदस्य योगेश गौचन थकालीले नगद सहित माला लगाएर सम्मानपत्र प्रदान गर्नुभएको हो । त्यसैगरी थकाली समुदाबाट राष्ट्रलाई योगदान पुर्याएबापत साहित्यकार मनिषा गौचनलाई पनि नगद पुरस्कार सहित सम्मान गरिएको छ । यो सम्मानले आफूलाई थप हौसला मिलेको बताउँदै सम्मानित क्रिकेटर शक्ति गौचनले क्रिकेटका माध्यमबाट आफूसहित परिवार, समुदाय र सिंगो राष्ट्रको पहिचान बनेको देख्दा आफूलाई पनि धेरै खुसी मिलेको भनाई राख्नुभयो ।  ।
त्यसैअवसरमा थकाली समुदायको धार्मिक स्थल पुङ्युङ् ओढार (बाह्र बर्षे मेलामा ४ चनका पाँडेहरुले वंशावली वाचन गर्ने स्थल) पुनर्निमार्णका लागि ५० हजार रुपैंया आर्थिक सहयोग प्रदान गरिएको छ । त्यस अवसरमा बोल्दै प्रतिनीधि सभा सदस्य योगेश गौचनले जनसंख्याका हिसावले अल्पसंख्यक समदाय भएर थकाली समुदायको गौरवमय ईतिहास रहेको र यो कायम राखिरहनुपर्ने नयाँ पुस्ताको काधमा दायित्व रहेको भनाई राख्नुभयो ।
गण्डकी प्रदेश सभा सदस्य बिकल शेरचनले थकाली युवा परिवार समुदायको मौलिकता, भाषा, परम्परा र सँस्कृतिको संरक्षण तथा सभ्यताहरु पुस्तान्तरणका लागि जन्मिएको संस्था भएकोले सोही अनुसार योजना बनाएर लाग्नु पर्ने बताउनु भयाे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, रुपन्देहीको कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, नेपाल आदिवासी जनजाति महासङका निवर्तमान अध्यक्ष जगत बराल, शंकर गाहा, थकाली महिला परिवारका अध्यक्ष रिना भट्टचन, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, शिवप्रसाद शेरचन, समितिका वरिष्ठ उपाध्यक्ष चित्र तुलाचन लगायतले भनाई राख्नुभएको थियो ।
२०७७ सालमा थकाली सेवा समितिको स्वीकृती पछि गठन गरिएको थकाली युवा समितिको बिहिबार सम्पन्न हुने राष्ट्रिय भेला तथा महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुको साथै थकाली अर्थविज्ञहरु, आदिवासी जनजाति युवा महासंघ, पकाली अनुसन्धान केन्द्रबाट प्रशिक्षण गरिनेछ ।
त्यसैगरी थकाली समुदायको भाषा, कला र संस्कारलाई जिवन्त बनाउने, पूर्वजहरुका योगदान र त्यागलाई सम्बद्र्धन गर्ने, नयाँ पुस्तालाई आफ्नो संस्कृति र मर्यादा प्रति जागरुक गराउने, उच्च ओहदामा थकाली समुदायको वर्चश्व कायम गर्न प्रशिक्षण गर्ने, थकाली समुदायका सम्पदाहरुलाई सरक्षण गर्ने, पूर्वजका गाथा, भाका र भेषलाई मध्यनजर गराई अग्रज र अनुज बिचको सम्बन्धलाई प्रगाढ बनाउने, थकालीहरुको मौलिक तारा खेललाई परम्परागत खेलको रुपमा विकास र सम्बद्र्धन गरी युवा वर्गलाई यस खेलमा अग्रसर गराउने लगायतका विषयमा छलफल गरिने समितिका अध्यक्ष योगेन्द्र शेरचनले जानकारी गराउनु भयो ।
कार्यक्रममा करिव ७५ जना थकाली युवा प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको छ । पाक सातसय (थासाङ) क्षेत्रबाट अन्यत्र बसाईसराई गर्ने क्रम वृद्धि भएपछि २००७ सालको राजनीतिक परिवर्तनको बदलिदो परिस्थितिलाई ध्यानमा राखी विभिन्न स्थानमा बसोवास गर्ने थकाली समुदायको एकतालाई संरक्षण गर्नको लागि पोखरा, काठमाण्डौ, बुटवल, भैरहवा लगायतका १९ क्षेत्र र बिदेशमा ३ क्षेत्र गरी २२ क्षेत्रमा थकाली सेवा समिति गठन गरिएको उहाँले जानकारी गराउनु भयो ।