नेकपा (एकिकृत समाजवादी) का महासचिव घनश्याम भुसालले मुलुकले गणतान्त्रिक नेपालको कार्यक्रम र ऐजेन्डा बोकेको पार्टी खोजेको बताउनु भएकाे छ ।
उहाँले संविधान निर्माण भएपछि राजनीतिले जनतालाई आशा भन्दा बढि निराशा र उकुस–मुकुस बनाएको बताउँदै अब कार्यक्रम र ऐजेन्डा स्पष्ट भएको पार्टीको आवश्यकता रहेको बताउनु भयाे ।
नेकपा (एकिकृत समाजवादी) रुपन्देहीले शुक्रबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले आफूहरु त्यहि गणतान्त्रिक नेपालको ऐजेन्डा बोक्ने क्रान्तिकारी कम्यूनिष्ट पार्टी बनाउने अभियानमा रहेको बताउनु भयाे । उहाँले जनताको आधारभूत समस्या हल गर्दै आत्मनिर्भर कृषि प्रणालीबाट राष्ट्रिय पूजीँको विकास, रोजगारीको सुनिश्चित गर्ने योजना र कार्यक्रम सहितको पार्टीको आवश्यकता रहेको बताउनु भयाे । ‘युवा पलायन रोक्न, आर्थिक सामाजिक विकास गर्न, अब जिम्मेवार क्रान्तिकारीहरु एकजुट हुने बेला आएको छ’ महासचिव भुसालले भन्नुभयाे –‘अहिले हामी यहि काममा खटिएका छौं ।’
अगुवा कार्यकर्ताहरु समेत रहेको कार्यक्रममा महासचिव भुसालले संविधानको रक्षाका लागि विद्रोहबाट जन्मिएको नेकपा एकिकृत समाजवादीलाई अब संघर्ष र आन्दोलनबाट स्थापित गर्नुपर्ने निष्कर्षमा पुगेको बताउँदै अबको एक वर्षभित्र नेकपा एकिकृत समाजवादी मुलुकमा आशा जगाउने पार्टी बन्ने दावी गर्नुभयाे ।
उहाँले अब छिट्टै केन्द्रीय कमिटिको बैठकलगतै राजनीतिमा देखिएको सन्नाटालाई चिर्ने गरी जनताको विचमा जाने पनि बताउनु भयाे ।
त्यसअवसरमा महासचिव भुसालले नेकपा माओवादी केन्द्र जिल्ला कमिटि सदस्य रामप्रसाद अर्याल, नेकपा एमाले निकटको मजदुर संगठनमा क्रियाशिल नेता राजु थापा, वाइसिएल नेता आशिष विक, मेघराज भट्टराईलाई पार्टी प्रवेश गराराउनु भयाे । कार्यक्रममा नेकपा एकिकृत समाजवादीका पोलिटब्यूरो सदस्य नन्दलाल बन्जाडे, प्रदेश सदस्यहरु हिराध्वज शाह, राजेन्द्र प्रसाद पाण्डे, कमल भण्डारी, जिल्ला उपाध्यक्ष चिनबहादुर गुरुङ लगायतको उपस्थिती रहेको थियो ।