जिससको कुनै आवश्यकता छैन : महामन्त्री थापा

1.3K

जिससको कुनै आवश्यकता छैन : महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले जिल्ला समन्वय समितिको कुनै आवश्यकता नरहेको बताउनु भएको छ । उहाँले १० वर्षको अनुभवले संविधानमा बदल्नुपर्ने केही कुराहरु देखिएको बताउँदै जिल्ला समन्वय समितिको कुनै आवश्यकता नरहेको प्रष्ट पार्नुभएको हो ।
नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेश समितिको अधिवेशनलाई बुधबार बुटवलमा सम्बोधन गर्दै महामन्त्री थापाले जिल्ला समन्वय समिति हटाउनु पर्ने र प्रदेश सभा सदस्यको पनि संख्या घटाउनु पर्ने धारणा राख्नुभयो । त्यस्तैगरी उहाँले अहिले संवैधानिक व्यवस्था अनुसार कुनै पनि दलले बहुमत प्राप्त गर्ने अवस्था नरहेको बताउँदै त्यसलाई पनि सुधार गर्नुपर्ने भनाई राख्नुभयो । उहाँका अनुसार संवैधानिक आयोगहरुलाई पनि प्रभावकारी बनाउनु पर्नेछ ।
एमालेसंगको सत्ता सहयात्राका क्रममा संविधानमा भएका कमजोरीहरु सुधार गर्नको लागि संविधान संशोधनको सहमति गरिएको बताउँदै संशोधन गर्नुपर्ने विषयमा सबै दलको साझा धारणा बनाएर अगाडि बढ्ने बताउनु भयो । ‘हाम्रै नेतृत्वमा बनाएर जारी गरिएको संविधानमा हाम्रो गौरव छ, संविधान प्रति कसैले खेलाँची गर्नुहुँदैन ।’ उहाँले भन्नुभयो–‘तर, दश वर्षको हाम्रो अनुभवले केही कुरा बदल्नु पर्नेछ ।’ तर संविधान संशोधन गर्नकै लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको मौलिक हक अधिकारमा तलमाथि हुनेगरी कसैसँग कुनै किसिमको सम्झौता नगरिने बताउनु भयो ।

महामन्त्री थापाले प्रेस स्वतन्त्रता र नागरिकका मौलिक हक स्थापित गर्न काँग्रेसले लामो समय संघर्ष गरेकोले त्यसमा कांग्रेसले कुनै सम्झौता नगर्ने बताउँदै पार्टीको स्थपापना कालदेखि नै समानुपातिक समावेशीताको सिद्धान्त अवलम्बन गरिएको र संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशीतालाई कांग्रेसले कहिल्यै नछाड्ने दाबी गर्नुभयो ।
भएका अधिकार कटौती गर्नका लागि नभएर संविधानमा भएका अस्पष्टता र अफ्ठ्यारा फुकाउन र प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिका लागि संविधान संशोधन गर्न लागिएको उहाँले जानकारी गराउनु भयो । संविधानलाई प्रभावकारी र परिणाममुखी बनाउन चाहेको बताउँदै उहाँले संविधान संशोधनका विषयहरु पहिल्याएर पार्टीमा छलफल गरिने र सत्ता साझेदार बिच साझा धारणा तयार गरेर माओवादी लगायतका अरु दलहरुलाई पनि समान धारणा बनाउन प्रयास गरिने जानकारी गराउनु भयो ।
उहाँले संविधान जारी गर्दा काँग्रेस एमालेको दुई तिहाई बहुमतको सरकार भएपनि संविधानको स्वीकार्यता बढाउन माओवादीलाई समेत सहमतिमा ल्याईएको स्मरण गर्दै संशोधनमा पनि सत्ता साझेदारसंगै माओवादी लगायतका दलहरुको समेत सहमति खोजिने जानकारी गराउनु भयो ।
बर्तमान सरकार काँग्रेसले चाहेर र काँग्रेसको प्रयासका कारण गठन भएको नभई समय र परिस्थितिको उपज भएको भन्दै महामन्त्री थापाले यो तीन बर्षको अवधिलाई जनताको पक्षमा अधिकतम सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीको आगामी महाधिवेशन पुर्वनिर्धारित समयमै हुने भन्दै उहाँले महाधिवेशनसँग सम्बन्धित आवश्यक प्रक्रिया अगाडि बढाउन पनि नेता कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।
नेपाल मुस्लिम संघका लुम्बिनी प्रदेश अध्यक्ष जाकिर हुसैनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व गृहमन्त्री बालकृष्ण खाँण, केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेल, केन्द्रीय सदस्य तथा प्रतिनीधि सभा सदस्य जुवेदा खातुन, नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संघका संस्थापक अध्यक्ष अब्दुल सत्तार, संघका केन्द्रीय अध्यक्ष डा. अतावुल मियाँ, काँग्रेस केन्द्रीय सदस्य नैनसिंह महर, नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलगायका नेताहरूले सम्बोधन गर्नुभएको थियो ।