अटो व्यवसायीमा आशा पलाएको छ : अध्यक्ष चौधरी

1.3K

अटो व्यवसायीमा आशा पलाएको छ : अध्यक्ष चौधरी

अटोमोबाईल एशोसियसन अफ नेपाल (नाडा)का अध्यक्ष करणकुमार चौधरीले अटो ब्यवसायीहरुको मागप्रति सरकार सकारात्मक देखिएको बताउँदै त्यसले व्यवसायीमा आशाको सञ्चार गरेको बताउनु भएको छ ।
शनिबार तिलोत्तमामा आयोजना गरिएको लुम्बिनी अटोमोबाईल्स एशोसिसयन अफ नेपालको चौथो वार्षिक साधारण सभाको उद्घाटन गर्दै उहाँले देशभित्र युवा जनशक्तिलाई रोजगार दिदै आर्थिक समृद्धिमा टेवा दिएको अटो ब्यवसायीहरुको मागलाई सम्बोधन हुने सरकारबाट आश्वासन पाएको बताउँदै त्यसले व्यवसायीलाई आशाको सञ्चार गरेको बताउनु भएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्वमन्त्री बिष्णु पन्थीले नेपालका लागि प्रमुख यातायातको माध्यम सडक सञ्जाल रहेको बताउँदै सडक सञ्जाललाई विस्तार गर्दै त्यसको स्तरबृद्धिमा जोड दिनुभयो । उहाँले जल यातायात नभएको र हवाईमा कमजोर भएको हुदा सडक सञ्जाल प्रमुख माध्यम भएको बताउनु भएको हो । दश वर्षे द्वन्द्व, कोभिड संक्रमण, अन्तर्राष्ट्रिय राजनितिक र युद्ध लगायतका कारण नेपालको राजनिति र आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव पारेको बताउँदै अब त्यसमा पनि सुधार हुने आशा व्यक्त गर्नुभयो ।
नेपालमा कानुनमा धेरै जटिलता र समस्याहरु रहेको स्वीकार गर्दै माकुराको जालोजस्तो एउटाले अर्को काट्ने कानुन हुदा समस्या रहेको भनाई राख्नुभयो । निजी क्षेत्र अघि बढेमात्र देशको आर्थिक विकास हुने बताउदै उहाँले नेपालमा सम्भावना बोकेका धेरे क्षेत्र रहेको पनि भनाई राख्नुभयो ।
कार्यक्रममा लुम्बिनी अटोमोबाईल्स एशोसिसयन अफ नेपालका अध्यक्ष गणेश भट्टराईले अटो क्षेत्रलाई चलायमान बनाउने गरि सरकारबाट नीतिगत योजना ल्याउनुपर्ने बताउनु भयो । कोभिड र आर्थिक मन्दीकै कारण पछिल्लोसमय बैंकप्रतिको विश्वास घटेको व्यवसायीहरुको मन जित्ने गरि बैंकबित्तिय संस्थाहरु लाग्नुपर्ने उहाँको भनाई छ ।
त्यस अवसरमा ट्राफिक व्यवस्थापनमा उत्कृष्ट सेवा गरेका जिल्ला प्रहरी कार्यालय प्युठान सामुदायिक शाखाका प्रहरी नायव निरीक्षक सरोज केसी, प्रहरी चौकी मर्यादपुर कपिलबस्तुका प्रहरी हवल्दार प्रेम कार्की, इलाका प्रहरी कार्यालय राजापुर बर्दियाका प्रहरी हवल्दार देबेन्द्रबहादुर साउद, बिमानस्थल सुरक्षा गार्ड नेपालगंज बाकेका प्रहरी सहायक हवल्दार पुष्पा पुनलाई नगद सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी प्रचारप्रसारमा योगदान गरेवापत पत्रकार कपिल ज्ञवाली र स्वस्तिक श्रेष्ठलाई पनि नगद सहित सम्मान गरिएको संस्थाका महासचिव रामप्रसाद बेल्बासेले जानकारी गराउनु भयो ।