बुटवल उपमहानगरपालिका वडा नं. ४ कञ्चन टोल विकास संस्थाको नवनिर्मित भवन उद्घाटन गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ४ कञ्चन टोलको शिरानमा निर्माण गरिएको २ कोठे भवनको शनिबार आयोजना गरिएको संस्थाको २३ औं साधारण सभा तथा १० औं अधिवेशनमा वडा अध्यक्ष नरिश्वर शर्मा पौडेलले उद्घाटन गर्नुभएको हो ।
त्यस अवसरमा बोल्दै वडा अध्यक्ष पौडेलले समग्र वडाको विकासका लागि वडा कार्यालयले काम गरिरहेको बताउँदै टोलको सरसफाई र हरियाली प्रवद्र्धनका कार्यक्रममा जोड दिन टोल विकास संस्थालाई आग्रह गर्नुभयो । उहाँले वडा कार्यालयबाट वडाको विकासमा भएका कार्य तथा भएका थप विकास प्रयासका बारेमा जानकारी गराउँदै वडा कार्यालय अगाडि सारेका विकास कार्यमा सहयोग गर्न पनि आग्रह गर्नुभयो ।
साधारण सभा तथा अधिवेशनबाट पुनः राधिका शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा इन्द्रा थापा पुन, सचिवमा मुना गुरुङ, कोषाध्यक्षमा मीना गलामी तथा कार्यसमिति सदस्यहरुमा जीतेन्द्र श्रेष्ठ, गोपाल मगर र तिर्सना थापालाई चयन गरिएको छ । त्यस्तै ईन्द्रबहादुर थापा र बाबुराम विकलाई सल्लाहकार चयन गरिएको छ ।
संस्थाकी अध्यक्ष राधिका शाहीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु गोमा नेपाली, अरुणकुमार श्रेष्ठ, पुनम थापा, संस्थाका सल्लाहकार बाबुराम विक, लक्ष्मीनगर बनका अध्यक्ष सर्वजित केसी, लक्ष्मीनगर पार्कका अध्यक्ष बाबुराम ढकाल, समाजसेवी शरद वली, लक्ष्मीनगर क टोलकी अध्यक्ष गंगा पन्थी, संस्थाका लेखा समिति संयोजक चेतनारायण सापकोटा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
त्यसै अवसरमा संस्थाको भवन निर्माणमा उल्लेखनीय योगदान गर्नुभएका संस्थापक अध्यक्ष ईन्द्रबहादुर थापा र लेखा समिति संयोजक चेतनारायण सापकोटालाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी लक्ष्मी माध्यमिक विद्यालयमा अध्ययन गर्ने २ जना बालबालिकालाई छात्रबृत्ति प्रदान गरिएको सचिव मुना गुरुङले जानकारी गराउनु भयो ।

