रुपन्देहीका पत्रकार स्व. देवबहादुर पाटामगरको १६ औं स्मृति दिवसको अवसरमा फलफूल तथा खाद्य सामग्री वितरण गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीका संस्थापक अध्यक्ष स्व. पाटामगरको स्मृतिमा बुधबार एक कार्यक्रमका बीच बुटवल जीतगढी स्थित कुष्ठरोगबाट प्रभावित व्यक्ति कल्याण समितिमा आश्रित कुष्ठरोगबाट प्रभावितहरुलाई फलफूल, दाल, चामल, तेल, चिनी लगायतका खाद्य सामग्री वितरण गरिएको फोनिज रुपन्देहीका अध्यक्ष मीनबहादुर रानाले जानकारी दिनुभयो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज केन्द्रीय उपाध्यक्ष सरु राना, प्रदेश इन्चार्ज मिलन गाहा, फोनिज रुपन्देहीका निवर्तमान अध्यक्ष सनु थापा, नेपाल मगर संघ बुटवल उपमहानगर समितिका उपाध्यक्ष लुमबहादुर सारुमगर, पाटाका धर्मपत्नी नारायणी पाटा, राज चौधरी, आकृति थापा लगायतको उपस्थितिमा फलफुल तथा खाद्य सामग्री वितरण गरिएको हो ।
बुटवलमा रहेर सक्रिय पत्रकारिता गर्ने क्रममै वि.स. २०६५ सालमा पाटामगरको बुटवल चौराहामा सवारी दुर्घटनामा निधन भएको थियो । देव पाटा स्मृति दिवसको अवसरमा फोनिज रुपन्देहीले हरेक वर्ष रचनात्मक कार्य गर्दै आइरहेको छ ।