लुम्बिनी पदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सिमा क्षेत्रमा हुने अपराधिक गतिबिधि र चोरी तस्करी नियन्त्रण गर्न प्रहरी प्रशासनलाई आग्रह गर्नुभएको छ । नेपाल प्रहरी अपराध अनुसन्धान विभागले बुटवलमा आयोजना गरेको प्रदेश स्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठीलाई सम्बोधन गर्दै खुला सिमाका कारण लुम्बिनी प्रदेशका तराईका ६ जिल्लामा चोरी तस्करी र अपराधिक गतिबिधि भईरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न आग्रह गर्नुभएको हो ।
उहाँले कृषि तथा मासुजन्य चिजहरुको अवैध चोरी निकासीले नेपाली किसानलाई अफ्ठ्यारो पारेको भन्दै त्यसमा समेत ध्यान दिन आग्रह गर्नुभयो । मुख्यमन्त्री आचार्यले प्रहरीलाई अझै दक्ष र क्षमतावान बनाएर प्रहरी प्रशासनलाई परिस्किृत गर्नुपर्ने पनि भनाई राख्नुभयो । खुला सिमाका कारण चोरी तस्करी बढीरहेको र नेपालमा अपराध गरेर भारत जाने र भारतमा अपराध गरेर नेपाल आएर लुक्न पनि सहज भएकाले त्यस्ता कुरालाई बढी निगरानी गर्न आग्रह गर्नुभयो ।
उहाँले त्यसबाहेक साईवर अपराध, आत्महत्या लगायतका आपराधिक गतिबिधि बढेको बताउँदै प्रहरीलाई प्रविधिमा पनि दक्ष बनाउनु पर्ने भनाई राख्नुभयो । त्यस अवसरमा लुम्बिनी प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले प्रहरीले गर्ने अनुसन्धानलाई पिडितमैत्री बनाउनु पर्ने भनाई राख्नुभयो ।
कार्यक्रममा विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायतले अपराध अनुसन्धानमा सिमित स्रोत साधनका विच पनि नेपाल प्रहरीले नागरिकको विश्वास हासिल गर्न सफल भएको बताउँदै अपराधका परिवर्तित स्वरुप अनुसार जनशक्तिलाई दक्ष बनाउन आवश्यक रहेको भनाई राख्नुभयो । पछिल्लो समय बढ्दै गईरहेको साईवर क्राईम (अपराध), हात्महत्या जस्ता अपराधिक गतिविधिलाई नियन्त्रण गर्नकाले लागि अनुसन्धानको पाटो महत्वपूर्ण हुने र त्यसमा घटनास्थलको सुरक्षा पहिलो र महत्वपूण पाटो रहेको बनाई राख्नुभयो । घटनास्थलको सुरक्षाका लागि सबैभन्दा पहिला सर्वसाधारणलाई सिकाउन आवश्यक रहेको भन्दै घटनास्थलको सुरक्षाका लागि सजग र सतर्क रहन सर्वसाधारणलाई आग्रह गर्नुभयो ।