नेकपा (एकीकृत समाजवादी) रुपन्देहीको दशौं जिल्ला अधिवेशन हुँदै : तयारी पुरा

1.3K

नेकपा (एकीकृत समाजवादी) रुपन्देहीको दशौं जिल्ला अधिवेशन हुँदै : तयारी पुरा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को जिल्ला अधिवेशन यहि चैतको ९ र १० गते बुटवलमा गर्ने तयारी गरिएको छ । एमालेबाट विद्रोह गरी स्थापना भएको नेकपा एकीकृत समाजवादीको दशौं जिल्ला अधिवेशन गर्न लागिएको बिहिबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।
पत्रकार सम्मेलनमा अधिवेशनको सबै तयारी पुरा भएको र उद्घाटनका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल आउने कार्यक्रम तय भएपनि अकस्मात बाहिर जानुपरेकाले सम्मानित नेता झलनाथ खनाल या महासचिव घनश्याम भुसाललाई प्रमुख अतिथिको रुपमा ल्याईने नेकपा एकीकृत समाजवादी रुपन्देहीका कार्यवाहक अध्यक्ष श्रीराम यादवले जानकारी गराउनु भयो ।
उहाँका अनुसार अधिवेशनको लागि जिल्लाका ५ वटै निर्वाचन क्षेत्रबाट प्रतिनीधि चयन गरिसकिएको छ । पाच निर्वाचन क्षेत्र रहेको रुपन्देही जिल्ला अधिवेशनका लागि क्षेत्र नं. १ बाट ४६ जना, क्षेत्र नं. २ बाट ४३ जना, क्षेत्र नं. ३ बाट २१ जना, क्षेत्र नं. ४ बाट ११ जना र क्षेत्र नं. ५ बाट ७ जना तथा जिल्ला कमिटिले मनोनित गर्ने १३ जना समेत गरी १४१ जना प्रतिनीधि चयन गरिसकिएको उहाँले जानकारी गराउनु भयो ।
प्रतिनीधि पार्टीको विधान अनुसार दलित तर्फ १०ः१, खुल्ला तर्फ २०ः१ र सबै क्लस्टरमा एक तिहाई महिला तथा २० प्रतिशत ४० बर्ष मुनिका युवाहरुको सहभागिताको सिद्धान्त अपनाईएको उहाँले बताउनु भयो ।
पत्रकार सम्मेलनमा रुपन्देही जिल्ला इञ्चार्ज नन्दराम बञ्जाडेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशन पश्चात पार्टीको तय गरिएको कार्यदिशा, कार्यक्रम, संगठनात्मक सिद्धान्त र विधान तथा समाजवादी कार्यदिशा बमोजिम प्रदेश, जिल्ला, पालिका अधिवेशनहरु अगाडी बढाईएको बताउनु भयो । सोही अनुसार रुपन्देहीमा पार्टीको विधि विधानलाई हुवहु कार्यान्वयन गर्नेगरी अधिवेशनका कार्यक्रम अगाडि बढाईएको उहाँले बताउनु भयो ।