बुटवलमा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु

1.3K

बुटवलमा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु

बुटवलमा बिहिबारदेखि राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभयो ।
त्यस अवसरमा बोल्दै नगरप्रमुख पाण्डेयले बुटवललाई खेलकुदको माध्यमबाट पनि चिनाउन र खेल पर्यटन मार्फत समृद्धि हासिल गर्ने योजना अनुसार बुटवल उपमहानगरपालिकाले खेलकुद क्षेत्रमा ठूलो धनराशी खर्च गरिरहेको जानकारी बराउनु भयो ।
तीनदिनसम्म चल्ने प्रतियोगितामा विभागिय टोलीसँगै एक सय टिमको सहभागीता रहेको क्लवका अध्यक्ष पंकज ज्ञवालीले जानकारी गराउनु भयो । खेल विभिन्न ६ विधामा हुनेछ ।
प्रतियोगितामा मेन्स सिंगलका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैया नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यसैगरि वुमन्स सिंगल प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ३० हजार, २० हजार र १० हजार, मेन्स डबल्समा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार,
भेट्रान्स (४५ प्लस) डबल्समा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ४० हजार, ३० हजार र २० हजार, भेट्रान्स (५५ प्लस) डबल्समा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २० हजार, १५ हजार र १० हजार तथा मास्टरतर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैया नगद पुरस्कार सहित कप, मेडल, प्रमाणपत्र प्रदान गरिने क्लवका सचिव भानु केसीले जानकारी गराउनु भयो ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा सिद्वार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापा, नेपालकै पुराना ब्याडमिन्टन खेलाडी कुमार मोहन बिक्रम शाही, प्रतियोगिताका संयोजक तथा क्लवका उपाध्यक्ष सम्भु भट्टराईलगायतले भनाई राख्नुभएको थियो । त्यसै अवसरमा नेपालमा ब्याडमिन्टन खेलको विकास र बिस्तारमा योगदान दिएका खेलाडि ८१ बर्षीय कुमार मोहन बिक्रम शाहीलाई सम्मान गरिएको थियो ।