तिलोत्तमा गोल्डकप : एपीएफको विजयी शुरुवात

1.3K

तिलोत्तमा गोल्डकप : एपीएफको विजयी शुरुवात

रुपन्देही जिल्ला फूटवल संघको आयोजनामा भएको २३ औं तिलोत्तमा गोल्डकप फूटवल प्रतियोगितामा विभागीय सशस्त्र प्रहरी बलको एपिएफ क्लवले विजयी सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलको पहिलो हाफको १७ औं मिनेटमा एपिएफका हरि कार्कीले गरेको गोल नै निर्णायक हुन पुग्यो ।
पहिलो हाफमा एक गोल खाएर दवावमा रहेको आयोजक रुपन्देही ११ ले पाएका अवसरहरुलाई गोलमा परिणत गर्न नसक्दा हार व्यहोर्नु पर्यो । शनिबार साँझ भएको खेलको पहिलो हाफ सकिएर दोस्रो हाफ सुरु भएपछि हावाहुरीका कारण रोकिएको दोस्रो हाफ आईतबार बिहान गराईएको थियो । पहिलो खेलमा एपीएफका विशाल गुरुङ प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको दोस्रो खेलमा आईतबार दिउँसो चर्च ब्याईज युनाईटेड, ललितपुर र नेपाल पुलिस क्लब काठमाडौंका बिचमा हुने संघका अध्यक्ष लोक पुनले बताउनु भयो । प्रतियोगिताको उपाधि विजेतालाई १२ लाख १२ हजार २२२ रुपैयाँ नगद पुरस्कार सहित गोल्डकप र प्रमाण पत्र प्रदान गरिने छ भने उपविजेतालाई ६ लाख ६ हजार ६६६ रुपैंया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने प्रतियोगिताका संयोजक पुनले जानकारी गराउनु भयो । त्यस्तै प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडिलाई एउटा मोटरसाईकल वा स्कुटर प्रदान गरिने छ भने विधागत उत्कृष्ट खेलाडीहरु गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड र कोचलाई जनही ३१ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । त्यस्तै प्रत्येक खेलमा म्यान अफ द म्याच हुने खेलाडिलाई ११ हजार १११ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।
बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति ईण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य सहयोग आयोजना गरिएको प्रतियोगिताको शनिबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल लगायतले उद्घाटन गर्नुभएको थियो ।