नेकपा (एकिकृत समाजवादी) रूपन्देहीको अध्यक्षमा हिराध्वज शाह सर्वसम्मत निर्वाचित हुनु भएको छ । आईतबार सम्पन्न पार्टीको १० औं जिल्ला अधिवेशनले शाहको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
लामो राजनीतिको अनुभव संगालेका शाहले आफूले नेकपा एकिकृत समाजवादीलाई रुपन्देहीमा सशक्त पार्टीका रुपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सबै पक्षलाई मिलाएर पार्टी गतिविधिलाई अगाडि बढाउने समेत बताउनु भयो ।
अधिवेशनबाट उपाध्यक्षमा अविराम विश्वकर्मा, अर्का उपाध्यक्षमा मिरा श्रेष्ठ, सचिवमा टंकप्रसाद पोख्रेल निर्वाचित भएको निर्वाचन मण्डलका अध्यक्ष फर्सुराम घिमिरेले जानकारी गराउनु भयो । यसैगरी उप–सचिवमा रामबहादुर बस्नेत, बाबुराम अर्याल र शारदा पहारीलाई चयन गरिएको छ ।
विधानले तोके अनुसारको समावेशि सदस्यहरु सहित ६७ सदस्य सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ । निर्वाचितहरुलाई निर्वाचन मण्डलको उपस्थितीमा प्रमणपत्र प्रदान गरिएको छ । पोलिटब्यूरो सदस्य नन्दलाल बन्जाडेले अध्यक्षतामा गठन गरिएको अध्यक्ष मण्डलमा पोलिटब्यूरो सदस्य अब्दुल हुसेन खाँन, केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई, भगवती घिमिरे, उमा काफ्ले, लक्ष्मी भुसाल, बाबुलाल यादव रहनुभएको थियो । शनिबार उद्घाटन गरिएको अधिवेशनको आईतबार बन्दसत्र भएको थियो । अधिवेशनको शनिबार नेकपा एकिकृत समाजवादीका महासचिव घनश्याम भुसालले उद्घाटन गर्नुभएको थियो ।