अबको दश वर्षलाई चामत्कारिक युग बनाऔं : महामन्त्री थापा

1.3K

अबको दश वर्षलाई चामत्कारिक युग बनाऔं : महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनीधि सभा सदस्य गगनकुमार थापाले अवको दश वर्षलाई चामत्कारिक युग बनाउन सकिने भन्दै त्यसका लागि तयार हुन दलका नेताहरुलाई आग्रह गर्नुभएको छ । विगत तुलनामा वर्तमानमा देशमा विद्युत, सडक पूर्वाधार, सूचना प्रविधि यावत कुराहरुमा प्रगति भईरहेपनि त्यसको समुचित व्यवस्थापन हुन नसक्दा नागरिकमा निराशा र वेचैनी बढेको बताउँदै उहाँले स्रोत र साधनको समुचित व्यवस्थापन गर्ने हो भने अबको दश वर्षलाई चामत्कारिक युग बनाउन सकिने दावी गर्नुभयो ।
नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. ५ ले बुधबार कञ्चनमा गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अबको दश वर्ष मेहनतका साथ काम गर्ने हो भने चामत्कारिक युग बनाउन सकिने बताउँदै मेहनतका साथ काम गर्न सबै तयार हुनुपर्ने बताउनु भयो । अहिले नागरिकमा भएका वेचैनी र अनसन्तुष्टीलाई चिर्न आवश्यक रहेको बताउँदै त्यसका लागि पनि सबै मिलेर एउटा भिजनमा काम गर्नुपर्ने भनाई राख्नुभयो ।
त्यसैगरी उहाँले राजा र राजसंस्थाप्रति लक्षित गर्दै विगतमा टुङ्ग्याईसकेको विषयलाई फेरी व्यूताउन नसकिने भनाई राख्नुभयो । दलका नेताहरुले ठिक ढंगले काम नगर्दाको परिणाम नागरिकमा वेचैनी र असन्तुष्टि बढेको बताउँदै उहाँले त्यसैका बलमा राजाले काठमाण्डौमा उत्पात मच्चाएको टिप्पणी गर्नुभयो । ‘निर्मल निवासमा राखेका राजाले यतिविघ्न उत्पात मच्चाउँछन् भने नारायणहिटीमा भएका भए के गर्थे ?, कल्पना गरौंत !’ उहाँले भन्नुभयो–‘ईतिहासमा टुङ्ग्याईसकेको विषयलाई फेरी व्यूताउने कुरा हुँदैन, संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता बदल्न सकिन्न ।’ तर संघ तथा प्रदेशका संरचना र आकार बढी खर्चिलो भएको बताउँदै त्यसलाई परिस्कृत गर्न सकिने भनाई राख्नुभयो ।

महामन्त्री थापाले अहिलेको सरकार संख्याका हिसावले निकै बलियो भएपनि नागरिक भरोसाका हिसावले ज्यादै कमजोर भएको टिप्पणी गर्नुभयो । ‘यो सरकारले गति लिन सकेको छैन, यसको मति मिलेको छैन ।’ उहाँले भन्नुभयो–सरकारमा भएका मन्त्रीहरुले अबको ३÷४ महिनामा परिणाम दिनुपर्छ, परिणाम दिन सकिदैन भने सरकार छोडिदिएहुन्छ, सरकारमा बसेर परिणाम दिन नसक्ने मन्त्री किन चाहियो ?’
करिव ७०÷७५ प्रतिशत अव्यवस्थित सुकुम्बासी रहेको कञ्चनका जनतालाई सम्बोधन गर्दै उहाँले नागरिकका समस्या सम्बोधनका लागि भूमि सम्बन्धि अध्यादेश सहित सरकारले विभिन्न अध्यादेश ल्याएको बताउँदै विविध कारणले त्यसलाई सदनबाट पास गराउन नसकिएको बताउँदै कुनै न कुनै निश्कर्ष निस्किने बताउनु भयो ।