पाणिनीबाट विश्वव्यापी ज्ञानको सुरुवात भएकाे हाे : प्रधानमन्त्री ओली

1.3K

पाणिनीबाट विश्वव्यापी ज्ञानको सुरुवात भएकाे हाे : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीलाई ध्यान, ज्ञान र देवभूमीको रूपमा परिभाषित गर्दै यही भूमि विश्वव्यापी ज्ञानको सुरुवात भएको ठाउँ भएको बताउनु भएको छ । अर्घाखाँचीमा आयोजित ‘पाणिनी तपोभूमि सम्मेलन’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पाणिनीको जन्मस्थान अर्घाखाँची भएकोमा कुनै शंका नरहेको प्रष्ट पार्नु भयाे ।
`यो भूमि पावन छ, पुण्य छ, देवभूमि हो । यहाँबाटै ज्ञानको सुरुवात भयो,´ प्रधानमन्त्री ओलीले भन्नुभयाे-`विश्वका व्याकरणका पिता पाणिनी यही भूमिमा जन्मनु भएको हो । अरु सबै व्याकरणहरूले पाणिनिको सूत्रलाई आधार मानेका छन् ।´
प्रधानमन्त्री ओलीले पाणिनीको योगदान असाधारण रहेको उल्लेख गर्दै अष्टाध्यायीमार्फत संस्कृत व्याकरणको ३ हजार ९ सय ५९ सूत्र निर्माण गरिएको र ती सूत्रहरू आजको आधुनिक प्रविधि, विशेषगरी कृत्रिम बौद्धिकता (एआई) विकासमा समेत प्रयोग भैरहेको बताउनु भयाे ।`पाणिनिको व्याकरणपछि भाषा सरल बन्दै गयो, छन्दको सुरुवातसँगै संगीत र लयको विकास भयो´उहाँ ले भन्नुभयाे ।
उहाँले पाणिनीले मात्र नभई शिव, सिंग ऋषि, पतञ्जली, र अन्य महर्षिहरूको तप, साधना, योग, आयुर्वेद र ज्ञान साधनाको केन्द्र भएको यस भूमिलाई समुचित प्रचारप्रसार गरी धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्ने जिम्मा सरकारले लिने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
नेपाल सरकारले यस क्षेत्रकाे विकासकाे लागि ध्यान दिएकाे बताउंदै धार्मिक र पर्यटकीय स्थलकाे रुपमा विकास गर्न जाेड दिने उल्लेख गर्नुभयाे ।
अर्घाखाँचीकाे पाणिनी तपाेभूमीमा लुम्बिनी प्रदेश सरकार उद्योग पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद, पाणिनी गाउँपालिका र पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा पाणिनी तपाेभूमी सम्मेलन गरिएकाे हाे । याे सम्मेलन बिहिबारसम्म चल्नेछ ।
झन्डै २५ सय बर्ष पहिले पाणिनी ऋषिले तपस्या गरेर सस्कृत व्याकरणकाे रचना गरेकाे पाणिनी सम्मेलनमा प्रधानमन्त्री ओली सहित लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, काँग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारी, पुष्पा भुसाल, एमाले सचिव प्रदिप ज्ञवाली, प्रदेशका उद्योग तथा पर्यटन मन्त्री प्रचण्ड बिक्रम न्यौपाने लगायत धर्म गुरु तथा सस्कृतका विद्वान तथा भाषाविदहरुको उपस्थिति रहेको थियोे ।
पाणिनी तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुख स्थल हो । अर्घाखाँचीको पुर्बी सिमाना र पाल्पा जिल्लाको सिमानामा पर्ने यो तपोभूमी क्षेत्र प्राकृतिक रुपमा पनि सुन्दर छ । यस तपोभूमिवाट उत्तर फर्कदा हिमालका हिम श्रृंखला र दक्षिण फर्कदा तराईका फाँटहरु देख्न पाईन्छ ।
पहाडको चुचुरोमा समथर भूभाग । पाणिनी शिव सिद्ध आश्रममा रहेका विभिन्न देवी देवता गणेश मन्दिर, हनुमान मन्दिर, कृष्ण मन्दिर शिव मन्दिर,  तथा विभिन्न देवी देवताका मन्दिरहरु, धर्मशाला, पुराण मण्डप, फलफुलका रुखहरु अनि संगै रहेको समथर भूभागमा रहेको ऐतिहासिक दह आकर्षणको केन्द्र रहेको गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले बताउनु भयाे ।
श्रीवर्षाचार्यको सुयोग्य शिष्य पाणिनीले तक्षशिला विश्व विद्यालयमा अध्ययन पुरा गरेका थिए । पहिले पाटनीपुत्र नगर हालको पटनामा पढ्दै गर्दा सर्वोत्कृष्ट हुन नसकेपछि शिवजीको आरधाना गर्न हिमालय क्षेत्र तर्फ जान्छु भनी हिडेको र तपस्या गर्ने स्थल खोज्दै जादा पणेनमा तपस्या गरेको भन्ने स्वर्गीय स्वामी कृष्णानन्द परमहंसले लेखेका विभिन्न ग्रन्थहरुमा भेटिएको पाणिनि तपोभूमि व्यबस्थापन समितिका पुस्करराज पोख्रेलले बताउनु भयाे ।