बुटवलमा राष्ट्रिय परिचयपत्र तथा गरिब घरपरिवार परिचयपत्र बितरण सुरु भएको छ । बिहीबार बुटवल उपमहानगरपालिका वडा नं ८ को वडा कार्यालयमा एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गर्नुभयो ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख पाण्डेयले वडा नं ८ का जेष्ठ नागरिक चुन्नप्रसाद पौडेललाई राष्ट्रिय परिचयपत्र बितरण गरेर कार्यक्रमको सुभारम्भ गर्नुभएको हो । सो अवसरमा नगर प्रमुख पाण्डेयले जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयबाट बितरण हुने राष्ट्रिय परिचयपत्र र गरिब परिचयपत्र जनताको सहजताका लागि स्थानीय तहका वडा कार्यालय मार्फत बितरण गर्न लागिएको जानकारी गराउनु भयो ।
वडाबाटै राष्ट्रिय परिचयपत्र तथा गरिब घरपरिवार परिचयपत्र बितरण गर्ने व्यवस्था हुँदा जनतालाई सहज हुने भन्दै नगर प्रमुख पाण्डेयले जनतालाई सहजरूपमा सेवा प्रवाह गर्नु जनप्रतिनिधिको जिम्मेवारी र दायित्व भएको बताउनु भयो । परिचयपत्र बितरण गर्दा टोकन प्रणाली लागु गरी आफ्नो पालोमा बोलाउने र जेष्ठ नागरिक तथा असक्तहरूलाई प्राथमिकता दिन पनि नगर प्रमुख पाण्डेले आग्रह गर्नुभयो ।
उपप्रमुख सावित्रा देवी अर्यालले जनताको सहजताका लागि स्थानीय तहमार्फत परिचयपत्र बितरण गर्ने ब्यवस्था भएको भन्दै सहज रूपमा परिचयपत्र बितरण गर्ने कार्यमा जनप्रतिनिधिले सहजिकरण गर्नुपर्नेमा जोड दिनुभयो । परिचयपत्र बितरणका क्रममा कुनै समस्या आएमा सम्बन्धित निकायसँग छलफल गरेर समाधान गरिने उहाँले बताउनु भयो ।
बुटवल उपमहानगरपालिका वडा नं ८ का कार्यबाहक वडा अध्यक्ष तुलबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा वडा सचिव बिष्णु श्रेष्ठले परिचयपत्र बितरणको तयारी र प्रक्रिया बारे अवगत गराउनु भयो । त्यस्तै बुटवलको वडा नं ३ र ४ मा पनि बिहिबार देखि नै परिचयपत्र बितरण सुरु भएको छ । तीनवटै वडामा नगर प्रमुख पाण्डेय, उपप्रमुख अर्यालले सम्बन्धित वडाका जेष्ठ नागरिकलाई परिचयपत्र प्रदान गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
पहिलो चरणमा बुटवलको वडा नं २, ३, ४, ५, ७, ८ र ९ सम्मका ४६ हजार ९८० जनालाई राष्ट्रिय परिचयपत्र तथा १ हजार २६२ गरिब घरपरिवार परिचयपत्र बितरण गर्ने तयारी भएको बुटवल उपमहानगरपालिका पञ्जिकरण शाखाकी अधिकृत संगिता अर्यालले जानकारी गराउनु भयो । रूपन्देहीमा पहिलोपटक बुटवलबाट परिचयपत्र बितरण कार्य सुरुवात भएको हो ।
परिचयपत्र लिन स्वयं ब्यक्ति उपस्थित हुनुपर्ने र परिचयपत्र लिन आउदा आवेदन फारम भरेको भर्पाई लिएर आउनुपर्ने त्यो नभए नागरिकताको प्रतिलिपी लिएर आउनुपर्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभागका कर्मचारीहरू जानकारी गराएका छन् ।