नयाँ वर्ष २०८२ को स्वागतमा रुपन्देहीको बुटवलमा सडक खाना महोत्सव गरिएको छ । बुटवलको कालिकापथ सडकमा आयोजना गरिएको महोत्सवको शनिबार साँझ बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभएको हो ।
रेष्टुरेन्ट एण्ड बार एशोसियशन नेपाल (रेबन) रुपन्देहीको आयोजनामा ‘सडकमै खाऔँ, सडकमै रमाऔं’ भन्ने नारा सहित आयोजना गरिएको सडक खाना महोत्सव बैशाख १ गते सोमबारसम्म चल्नेछ । महोत्सवको उद्घाटन गर्दै नगरप्रमुख पाण्डेयले आर्थिक केन्द्रका रुपमा बिकास भएको बुटवलको आर्थिक गतिबिधिलाई चलायमान बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
नयाँ वर्षको अवसर पारेर कार्यक्रम गरेकामा नगरप्रमुख पाण्डेले रेबनलाई धन्यवाद दिँदै उपमहानगरपालिकाको समेत सहकार्य रहेकाले एकपटक अवलोकन गरि खाना संगै लाइभ म्युजिकमा रम्न आग्रह गर्नुभयो ।
कार्यक्रममा रेबन रुपन्देहीका अध्यक्ष प्रसान्त कोइरालाले आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गरि सडक खाना महोत्सव आयोजना गरिएको बताउँदै कार्यक्रम सफल बनाउनको लागि सबैलाई साथ र सहयोगको लागि आग्रह गर्नुभयो । उहाँले बुटवलका रेष्टुरेन्ट व्यवसायीहरुको नैरश्यता मेटाउन र थप उर्जा कायम गर्न महोत्सवको आयोजना गरिएको बताउँदै महोत्सव सफल पार्न रातदिन खट्ने व्यवसायीहरु तथा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी, उपाध्यक्ष कमल कुवंर, नेपाली कांग्रेसका नेता चिरञ्जीवी जोशी, वडाका जनप्रतिनीधि लगायतले शुभकामना व्यक्त गरेका थिए ।
महोत्सवमा बुटवलको कालिकापथ सडकमा मिलनचोक तिनकुने चोकदेखि कालिकानगर शिवालय मन्दिरसम्म ५० बढी स्टल राखिएको छ भने लाइभ म्युजिकसहित विभिन्न खानाका परिकार राखिएको छ ।
पाँच लाख बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिईएको महोत्सव रातको समयमा हुने छ भने त्यसका लागि सुरक्षा व्यवस्था चुस्त बनाईएको अध्यक्ष कोईरालाले बताउनु भयो । कालिकापथ सडक बुटवलको मुख्य वैकल्पिक सडक पनि भएकाले सवारी साधनको आवागमनलाई ध्यानमा राखेर दिनको समयमा सडक खुल्ला राखिनेछ भने महोत्सव हुने रातको समयमा आवतजावतका लागि वैकल्पिक मार्गहरु प्रयोग गर्नेगरी व्यवस्था मिलाईने आयोजक संस्थाले जनाएको छ ।