आज सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदै छ । दिउँसो ३ बजे बस्ने संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।
संघीय संसदको दुबै सदनको संयुक्त बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ । सभामुख देवराज घिमिरेले दिनको २ बजेर ४५ मिनेटभित्रै प्रतिनिधिसभाका सदस्यलाई निर्धारित पोशाकमा उपस्थित हुन र आशनग्रहण गरिसक्न आग्रह गर्नुभएको छ ।
सत्ता साझेदार राजनीतिक दलका बीचमा यस अघिनै अर्थतन्त्रलाई थप चलायनमान बनाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफल भइसकेको छ । संघीय संसद सचिवावलयले यही वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची तय गरिसकेको छ । नेपालको संविधान अनुसार जेठ १५ गते सरकारको आगामी आर्थिक वर्षको बजेट संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने व्यवस्था छ ।