कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) रूपन्देहीले डिजिटल साक्षरता र सुरक्षा सम्मेलन गरेको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको आवसरमा सोमबार बुटवलमा डिजिटल साक्षरता र सुरक्षा सम्मेलन गरिएको हो ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले नेपालको समग्र विकासमा सूचना प्रविधिको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । उहाँले नागरिकलाई सहज रूपमा सेवा प्रदान गर्नका लागि सूचना प्रविधिको प्रयोग बढाउँदै लगिएको बताउँदै पछिल्लो समय कार्यालय तथा संघसंस्थाहरूमा प्रविधिको प्रयोग अनिवार्य बनेको बताउनु भयो । प्रविधिको विकास र प्रयोगले सरकारी कार्यालयहरुमा घण्टौ लाग्ने काम घरमै बसेर केही मिनेटमै गर्न सकिने भन्दै यसका लागि डिजिटल साक्षरता तालिम आवश्यक रहेको भनाई राख्नु भयो ।
कार्यक्रममा क्यान महासंघका केन्द्रीय अध्यक्ष सुनैना घिमिरे पाण्डेले देशमा पछिल्लो समय साइबर हमलाका घटना बढ्दै गइरहेको भन्दै सचेत बन्नुपर्ने बताउनु भयो । डिजिटल साक्षरताको आवश्यकता बढ्दै गएको बताउनु भयो ।
क्यान महासंघ रुपन्देहीका अध्यक्ष जीवन अधिकारीले डिजिटल प्रविधिको प्रयोग बढ्दै गइरहेको अवस्थामा यसको आवश्यकता, सम्भावना र चुनौतीबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रममा डिजिटल उपकरण प्रयोग गर्ने तरिका र त्यसका नीति निमयमका बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा सूचना तथा सञ्बार प्रविधि प्रतिष्ठान लुम्बिनी प्रदेशका निर्देशक अनुप बास्कोटाले पछिल्लो समय संसारभरनै साइबर अपराधका घटना बढ्दै गएको बताउँदै साइबार सुरक्षा बारेमा जानकारी गराउनु भएको थियो । नेपालमा पनि यसबाट पीडित हुनेको संख्या बर्षेनी बढ्दै गएकोले यसतर्फ सचेत हुनेपर्ने बताउनु भयो । विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई प्रलोभनमा पारेर तथा मोबाइन बैंकिङमा पहुँच पुर्याएर ठगी गर्नेक्रम बढ्दै गएको बताउँदै यसबाट जोगिन सुरक्षित हुन आग्रह गर्नुभयो ।
यस्तै आइटी इन्जिनियर राहुल शाक्यले पछिल्लो समय सूचना प्रविधिको विकाससँगसँगै सुरक्षा चुनौती पनि बढ्दै गएको बताउनु भयो । सामाजिक सञ्जालको गलत प्रयोगका कारण गम्भीर घटना हुने गरेको बताउँदै यसको सहि प्रयोगमा जोड दिनुभयो । आइटी विज्ञ शिव भट्टराईले डिजिटल साक्षरताका बारेमा प्रस्तुतिकरण गर्दै नेपालमा डिजिटल साक्षरता दर बढाउन जरुरी रहेको बताउनु भयो ।