दाउन्नेमा मालवाहक र लामा सवारीका साधन रोक्ने प्रस्ताव सहित सडक आयोजना निर्देशनालयले सडक विभागमा पत्राचार गरेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत बुटवल–नारायणगढ सडकको निर्माणाधिन दाउन्ने सडक खण्डमा मालवाहक र लामा सवारी साधन सञ्चालनमा रोक लगाउन प्रस्ताव सहित पत्राचार गरिएको हो ।
लामा मालवाहक सवारी साधनका कारण निर्माणको काम प्रभावित भएको भन्दै पहाडी र घुमाउरो दाउन्ने सडक खण्डको निर्माण अवधिभर ती सवारी साधन रोक्न माग गरिएको हो । बुटवल–नारायणगढ सडकखण्डको १४ किलोमिटर दाउन्ने क्षेत्रमा ढलान सडक निर्माण गर्दा बढी टिकाउ हुने भन्दै सडक आयोजना निर्देशनालयले सडक ढलानको काम सुरु गरेको छ ।
आयोजना निर्देशनालयका प्रमुख चुडाराज ढकालका अनुसार ढलान सडक निर्माण गर्नका लागि लामा मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाउन पर्छ, नत्र जाम हुने जोखिम हुन्छ । उहाँले केही समय दाउन्ने हुँदै नारायणगढतर्फ जाने लामा गाडी वैकल्पिक मार्गबाट सञ्चालन गर्न सकिए दाउन्नेमा फटाफट सडक निर्माणको काम अघि बढाउन सकिने पनि बताउनु भएको छ । उहाँले विशेष गरी भारतबाट आउने मालवाहक गाडी केही महिना रक्सौल हुँदै वीरगन्जबाट आउजाउ गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभएको हो ।
बुटवल–नारायणगढ ११४ किलोमिटर सडक फराकिलो बनाउन चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले ठेक्का लिएको छ । १७ अर्ब रुपैयाँमा ठेक्का सकारेको चिनियाँ कम्पनीले काम थालेको ३ वर्षमा काम सक्ने सम्झौता गरे पनि ६ वर्ष पूरा भैसक्दासमेत काम सकिएको छैन । कुल ११४ किलोमिटर सडक मध्ये ९३ किलोमिटर सडक एकतर्फी कालोपत्रे भएको आयोजनाले जनाएको छ ।