गुल्मीको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुवँरले विपन्न बालबालिकालाई विद्यालय पोशाक तथा झोला प्रदान गर्नुभएको छ । गाउँपालिकाको वडा नं. ५ का स्व. डोरबहादुर विकका छोरा १० वर्षीय शिशिर र ७ वर्षीया छोरी सुदिक्षालाई विद्यालय पोशाक तथा झोला प्रदान गर्नुभएको हो ।
डोरबहादुरको निधन भएपछि अभिभावक विहिन भएका विपन्न ती बालबालिकालाई केही भएपनि सहज होस भनेर विद्यालय पोशाक तथा झोला प्रदान गरिएको अध्यक्ष कुवँरले बताउनु भयो ।
आयस्रोत केही नभएको उक्त परिवारलाई बालबालिका विद्यालय पढाउन त टाढाको कुरा साँझ विहानको छाक टार्न समेत मुस्किल भएको स्व. डोरबहादुरकी श्रीमती सीताले बताउनु भयो ।
पालिका अध्यक्षले विद्यालय पोशाक र झोला प्रदान गरेर आफ्नो दुःखमा साथ दिएको सीताले बताउनु भयो । नेपाली काँग्रेस मदाने गाउँपालिकाका अध्यक्ष समेत रहनु भएका गाउँपालिका अध्यक्ष कुवँर निर्वाचित भएपछि पालिकाबाट प्राप्त हुने सुविधा वापतको रकम सोझै पार्टीको खातामा जाने र उक्त रकम पार्टी समितिको निर्णयमा सहयोग प्रदान गर्ने गरिएको अध्यक्ष कुवँरले बताउनु भयो । सोही रकमबाट ती बालबालिकालाई विद्यालय पोशाक र झोला प्रदान गरिएको उहाँले जानकारी गराउनु भयो ।