देशभर भारी वर्षा : सबैभन्दा धेरै कपिलबस्तुमा

1.3K

देशभर भारी वर्षा : सबैभन्दा धेरै कपिलबस्तुमा

गएराती देशभर भारी वर्षा भएको छ । जल तथा मौषम विज्ञान विभाग, मौषम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा आईतबार राति भारी वर्षा भएको छ ।
सबैभन्दा धेरै लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लास्थित भगवानपुरमा १०६.८ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ । यो ६ घण्टाको वर्षा मापन हो । यसैगरी गण्डकीको गोरखास्थित गोरखा एग्रोमेट केन्द्रमा १०३ र बागमतीको चितवनस्थित चर्चरे केन्द्रमा १०१.४ मिलिमिटर वर्षा मापन भएको छ । चर्चरेमा आज बिहान एक घण्टायताको वर्षा पनि ४४.८ मिलिमिटर मापन भएको छ ।
चितवनको गोबिन्द बस्ती, दाङ देउखुरीको रङसिङ र लालमटियामा केन्द्रमा पनि भारी वर्षा भएको छ । यसैगरी झापाको दमक, रौतहटको रजुवा, सप्तरीको रुपनीबजार, नवलपरासीको देउराली, सुर्खेत विमानस्थल र सुर्खेतकै रातानाङ्ला स्टेसनमा पनि भारी वर्षा भएको महाशाखाले जनाएको छ ।
वर्षाका कारण नदीको जलसतह बढेको छ । आज सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागको केही स्थानहरूमा तथा बाँकी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्का वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।