नेपाली काँग्रेसले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई एक वर्षका लागि पार्टीबाट निष्कासित गरेको छ । गएको प्रतिनीधि सभा तथा प्रदेश सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा अनुशासन समितिले एक वर्षका लागि पार्टीको सदस्य समेत नरहने गरी कारवाही गरेको हो ।
केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले बुधबार प्रदेश समतिलाई पत्र लेखेर कारबाहीको जानकारी गराउनु भएको छ । खनालमाथि कारबाहीका लागि गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको कारण देखाइएको छ ।
गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेवारलाई असहयोग गरेको भनी परेको उजुरीमा अनशासन समितिले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणमा चित्त बुझ्दो जवाफ नदिएको अनुशासन समितिले जनाएको छ ।
पार्टीका केन्द्रीय सदस्य समेत रहनुभएका सांसद, उद्योगपति विनोद चौधरीले पार्टीका प्रदेश महामन्त्री बर्दघाट नगरपालिका– १० का खनालले गत निर्वाचनमा आफूलाई असहयोग गरेको भन्दै अनुशासन समितिमा उजुरी दिनुभएको थियो ।