पाल्पाको रिब्दीकोट गाउँपालिकामा रहेको भैरवस्थान मन्दिर व्यवस्थापन समितिको विवाद अन्त्य भएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासले दिलिप रायमाझीको अध्यक्षतामा गठन भएको मन्दिर व्यवस्थापन समिति गठन प्रकृया अवैधानिक भएको ठहर गर्दै पुनः व्यवस्थापन समिति गठनको बाटो खुला गरिदिएको हो ।
भैरवस्थान मन्दिर व्यवस्थापन समिति गठनमा वडा अध्यक्ष सोमबहादुर कार्कीविरुद्ध अदालतमा पेश भएको निवेदनका आधारमा अदालतले यो निर्णय गरेको हो । भैरवस्थान मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष गोविन्दबहादुर पोखरेलले रायमाझी नेतृत्वको व्यवस्थापन समितिको वैधता र त्यस अन्तर्गतको गुठीको सम्पत्ति उपयोग तथा समितिको गठन प्रक्रिया अस्वीकार गर्दै पुनः नयाँ समिति गठन गर्नुपर्ने मागसहित मुद्दा दायर गर्नुभएको थियो ।
अदालतले समितिको गठन गुठी संस्था ऐन, २०३३ को दफा १६ र १७ तथा देवलसम्बन्धी व्यवस्थापन समिति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम गर्नुपर्ने व्यवस्था उल्लंघन भएको ठहर गरेको छ । अदालतको निर्णयअनुसार, पुरानो व्यवस्थापन समिति वैधानिक मापदण्ड अनुसार पुनर्गठन नगरेको पाइएकाले अब नयाँ व्यवस्थापन समिति गठन गर्न बाटो खुलेको हो ।
यस फैसलासँगै देवस्थल व्यवस्थापन समिति गठन गर्ने सम्बन्धि निर्देशिका २०८१ को दफा ३ बमोजिम प्रकृया पुरा गरी भैरवस्थान मन्दिर व्यवस्थापन समिति गठनकाक लागि गुठी संस्थान केन्द्रीय कार्यालय तथा मालपोत कार्यालय पाल्पालाई परमादेश जारी भएको छ ।