धौलागिरी सहकारीको सजत जयन्ती : शेयर सदस्यलाई सहकारी शिक्षा

1.3K

धौलागिरी सहकारीको सजत जयन्ती : शेयर सदस्यलाई सहकारी शिक्षा

बुटवलको सुख्खानगरमा सञ्चालित धौलागिरी बहुउद्देश्यीय सहकारी संस्थाले स्थापनाको २५ औं वर्षलाई रजत जयन्ती समारोहका रुपमा मनाएको छ । त्यसै अवसरमा सहकारीका शेयर सदस्यलाई सहकारी प्राधिकरण ऐन तथा सहकारी अभियानका वारेमा अभिमुखिकरण गरिएको छ ।
सहकारी विज्ञ तथा बचत तथा ऋण सहकारी संस्था लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण नेपालले प्रशिक्षण दिनु भएको थियो । अध्यक्ष नेपालले सहकारीको अनुगमन तथा निरिक्षण गर्ने अधिकार स्वयम शेयर सदस्यमा हुने हुनाले सहकारीका सिद्धान्त, ऐन नियम विनियमहरुका वारेमा शेयर सदस्यहरु जानकार हुन जरुरी रहेको बताउनु भयो । सहकारीमा सदस्य हुनु भनेको त्यो सहकारीको मालिक नै हुनु हो, त्यसैले सदस्यहरुले आफ्नो सहकारीको लगानी असुली बचतका वारेमा जानकारी राख्न सकेमा त्यस्ता सहकारीहरु विग्रनवाट सुरक्षित हुने हुनाले त्यसतर्फ जिम्मेवार हुन आग्रह गर्नु भयो ।
सहकारीहरुको नियमन गर्नका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन भएकोले सोवाट नै हुने हुनाले आगामी दिनमा सहकारीमा हुने वेथितीको केही हदसम्म नियन्त्रण हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा धौलागिरी सहकारीका संस्थापक तथा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले मुलुकमा आर्थिक विकास गर्न र गरिबी निवारणमा सहकारीको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । नगरप्रमुख खाणले सहकारीकै कारण गरीबी घटेकोले सहकारीलाई दीगो र विश्वसनीय बनाउन शेयर सदस्यहरुले सहकारीका मुल्यमान्यता, सिद्धान्तका वारेमा बुझन जरुरी रहेको बताउनु भयो ।
संस्थाका अध्यक्ष गोबिन्द खनालको सभापतित्वमा भएको कार्यक्रममा सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र शर्मा, सल्लाहकार टंक पराजुली, नारायण अधिकारी, राधेश्याम राजभण्डारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेल, सहकारी अभियान्ताहरु अर्जुन रानाभाट, माया गौतम, टंक गैरे, प्रेमबहादुर खड्का, बसन्त ढकाल, भिम तुलाचन, विमलराज भट्टराई संस्थाका उपाध्यक्ष देव खनाललगायतले सहकारीका मुल्यमान्यताका वारेमा बोल्नुभएको थियो ।
त्यसै अवसरमा संस्थापक शेयरसदस्य तथा एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको संस्थाका सचिव सचिव ठाकुर घिमिरेले जानकारी गराउनु भयो ।