पहिरोले हल गोरु लगेपछि पिडामा भुसाल : मदानेका अध्यक्ष कुंवरद्वारा राहतस्वरुप सहयोग

1.3K

पहिरोले हल गोरु लगेपछि पिडामा भुसाल : मदानेका अध्यक्ष कुंवरद्वारा राहतस्वरुप सहयोग

‘गोरुले मलाई र मेरो परिवारजनलाई पालेका थिए, अब हामीलाई कसले पाल्ने हो ?’ – यो भनाइ हो मदाने गाउँपालिका–२, ओखरेनी निवासी ताराप्रसाद भुसालको, जसले हालैको पहिरोमा आफ्ना हल गोरु गुमाउनु भएको छ ।
भुसाल परिवारको जिविकोपार्जनको आधार हल गोरु थियो । हल गोरु सहित आफ्नो मेहनत र परिश्रमले आफू र परिवारको जिविकोपार्जन चलाउनु भएको थियो भुसाल । तर यहि असार २१ गते वर्षासंगै आएको विनाशकारी पहिरोले उहाँको खेत जोत्ने हल गोरु नै बगाईदियो । जसले उहाँको दैनिकीमा ठूलो संकट उत्पन्न भयो ।
यो दुःखद घटनापछि मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुंवरले गाउँपालिकाबाट प्राप्त हुने व्यक्तिगत आर्थिक सुविधामध्येबाट १० हजार रुपैंया आर्थिक सहयोग प्रदान गर्नुभएको छ । उहाँले पिडित किसान भुसाललाई आईतबार घरमै पुगेर सान्त्वना सहित राहतस्वरुप १० हजार रुपैंयाको चेक हस्तान्तरण गर्नुभएको हो ।
अध्यक्ष कुंवरले भन्नुभयो–‘यो संकटको घडीमा हामी उहाँजस्तो कृषिमा आश्रित नागरिकलाई साथ दिनैपर्छ, गोरुको विकल्प त दिन सक्दैनौं, तर नयाँ सुरुवातका लागि सानो सहयोग होस् भन्ने हामीले प्रयास गरेका हौं ।’ उहाँको यो कदमलाई स्थानीयले सकारात्मक रुपमा लिएका छन् । संकटको समयमा प्राप्त सहयोगले पिडित भुसाललाई केही राहत मिल्ने विश्वास गरिएको छ ।
नेपाली काँग्रेस मदानेका सभापति समेत रहनुभएका अध्यक्ष कुवरले पालिका अध्यक्षमा निर्वाचित भएपछि पालिकाबाट आफूले पाउने सेवा सुविधा वापतको रकम पार्टीको खातामा जाने व्यवस्था मिलाउनु भएको छ । त्यसरी प्राप्त भएको रकम पार्टी समितिको निर्णयमा आवश्यक सहयोग प्रदान गर्ने गरिएको उहाँले बताउनु भयो ।