नेपाल प्रेस युनियनको दशौं राष्ट्रिय महाधिवेशन आगामी जेठमा गर्ने निर्णय गरिएको छ । आईतबार काठमाण्डौंमा सम्पन्न केन्द्रीय समितिको बैठकले केन्द्रीय समितिको समयावधी थप गर्दै २०८३ जेठमा दशौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो ।
युनियनको वर्तमान कार्यसमिति निर्वाचित भएदेखि सांगठनिक गतिविधि, प्रदेश समिति गठन, शाखाको अधिवेशन तथा साधारण सभा, नेपाल पत्रकार महासंघको निर्वाचन, शाखा अध्यक्ष र प्रदेशको राष्ट्रिय सम्मेलन, लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट लगायतका महत्वपूर्ण क्रियाकलापमा व्यस्त हुनु परेको र ३ वर्षे अवधिमा महाधिवेशन केन्द्रित गतिविधिमा लाग्न समय अभाव भएकाले विधानअनुसार विधान सभा लगायतका केही महत्वपूर्ण कार्य बाँकी रहेको सन्दर्भमा विशेष परिस्थितिलाई ध्यानमा राखेर वर्तमान केन्द्रीय कार्य समितिको समयावधी थप गर्ने निर्णय गरिएको अध्यक्ष शिव लम्सालले बताउनु भयो ।
त्यसैगरी युनियनको विधान समयानुकुल संशोधन गर्नको लागि आगामी मंसिरमा विधान अधिवेशन गर्ने निर्णय गरिएको युनियनका महासचिव दिलिप पौडेलद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । बैठकले विधान संशोधनका लागि केन्द्रीय समितिमा पेस गर्नेगरी वरिष्ठ उपाध्यक्ष प्रेम केसीको संयोजकत्वमा १५ सदस्यीय विधान परिमार्जन (संशोधन) मस्यौदा समिति गठन गरिएको छ ।
त्यसैगरी नेपाल प्रेस युनियनको सदस्यता लिन योग्यता पुगेका इच्छुक लोकतन्त्रमा आस्था राख्ने सञ्चारकर्मीलाई विधान बमोजिम सदस्यता दिनेगरी साउन १५ देखि कात्तिक २१ सम्म विशेष अभियान सञ्चालन गर्ने, पत्रकारसंग युनियन अभियान चलाउने पनि निर्णय गरिएको छ ।
बैठकले नेपालको संवैधानिक व्यवस्थाअनुसार सञ्चार माध्यममा प्रकाशित समाचारको तथ्य जाँच गर्ने निकाय प्रेस काउन्सिल नेपाल भएपनि अदातलले डिजिटल प्रकाशनको मर्ममा असर पुग्ने गरी समाचारको तथ्य जाँच नगरी समाचार डिलिट गर्न विगतमा दिएको अन्तरिम आदेश संवैधानिक मर्म विपरित भएको ठहर गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरोकारवालाको ध्यानाकर्षण गराएको छ । त्यस्तै सबै पत्रकारलाई सञ्चारकर्म गर्दा पत्रकार आचारसंहिता पालना गर्न पनि आग्रह गरिएको छ ।
सञ्चारमाध्यमलाई सरकारले दिँदै आएको लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन, सुविधा वृद्धि गर्न, अनलाइन सञ्चारमाध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिने व्यवस्था गर्न सरकार र माताहतका निकायमा ध्यानाकर्षण गर्ने, सरकारी विज्ञापनमा समानुपातिक वितरण प्रणाली लागू गर्न विज्ञापन बोर्डलगायत सरकारसँग माग गर्ने निर्णय गरिएको छ ।
नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस युनियनको निर्णय र निर्देशन विपरित अनुशासन उलंघन गर्ने सदस्यलाई अनुशासन समितिले निष्कासित गरेका सदस्य युनियनका कार्यक्रममा सहभागी भएको देखिएकाले यो विषयमा पुर्नविचार गर्नुपर्ने आवश्यकता औंल्याउँदै कारबाहीमा परेका सदस्यले आत्माआलोचना सहित कारबाही फुकुवाका लागि शाखामार्फत अनुशासन समितिमा लिखित निवेदन दिएपछि अनुशासन समितिले आवश्यक निर्णय गर्ने समेत निर्णय लिईएको छ ।
संघीय सरकार, प्रदेश, स्थानीय सरकारलाई प्रेस तथा अभिव्यक्ति मैत्री कानुन निर्माण गर्न, पत्रकारिताको बदलिँदो अभ्यासलाई आत्मसाथ गर्दै युट्युवलगायत सामाजिक सञ्जालमा भइरहेको पत्रकारितालाई व्यवस्थित, मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन आग्रह गर्ने, पछिल्लो समय पत्रकारितामा बढ्दो कृत्रिम बौद्धिकता (एआई) को प्रयोगलाई व्यवस्थित गर्न आवश्यक प्रशिक्षण, साक्षरताका लागि युनियनले अभियान चलाउने र एआईको नियमनका लागि आवश्यक नीति तर्जुमा गर्न सरकारलाई आग्रह गर्ने पनि निर्णय गरिएको छ ।
त्यसैगरी युनियनले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गर्नुका साथै कोषलाई व्यवस्थित गर्न र रकम संकलन गर्न कोषाध्यक्ष माधव धितालको संयोजकत्वमा समिति गठन गरिएको छ । बैठकमा प्रेस युनियनको तीन वर्षे कार्यकालको समीक्षा गर्नुका साथै बाँकी अवधिमा सांगठनिक गतिविधि वृद्धि गर्दै संगठनलाई थप गतिशील र चलायमान बनाउने संकल्प लिईएको छ । यस अवधिमा संगठनले लिएको लक्ष्य, उद्देश्य स्थापित मूल्य, मान्यता अनुसार श्रमजिवी पत्रकारको हक, हित, पेशागत सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चार सम्बन्धी ऐन, कानुन निर्माणमा पैरवी, सञ्चार क्षेत्रमा सिर्जनात्मक क्रियाकलाप, सीप तथा क्षमता अभिवृद्धि, सञ्चार माध्यमका समस्या समाधानमा बसह, पैरवी, आन्दोलन लगायत कार्यक्रम अपेक्षाकृत रुपमा सम्पन्न गरिएको छ ।